भूकम्पको मौका छोपेर सरकारले नयाँ धन्दा सुरु गरेको रवि लामिछानेकाे आरोप

भूकम्पको मौका छोपेर सरकारले नयाँ धन्दा सुरु गरेको रवि लामिछानेकाे आरोप


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूकम्पको मौका छोपेर सरकारले नयाँ धन्दा सुरु गरेको आरोप लगाएका छन् । 

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीद्धारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सभापति लामिछानेले भूकम्प पीडितको चिन्ता गरेजस्तो गरेर सरकारले काठमाडौंमा स्टक एक्सचेन्जको नयाँ धन्दा थालेको आरोप लगाएका हुन् ।

जाजरकोटको चिसोमा राम्रो ओढ्ने ओछ्याउने नपाएर बसेका जनताको चिन्ता गरे जस्तो गरेको सरकारले सुटुक्क जनता झुक्याएको टिप्पणी गरे । ‘जाजरकोटको चिसोमा त्रिपाल नपाएर राम्रो ओढ्ने ओछ्याउने नपाएर बस्नुभएका दाजुभाई दिदी बहिनीहरुको चिन्ता थियो हामी चिन्ता व्यक्त गरिरहेका थियौँ । सरकार पनि भन्दै थियो न्यानो दिँदै छौं गर्दै छौं भनेर ।’ उनले भने, ‘सरकार के गर्दै छ भनेर हामीले ध्यान दिँदा हिजो साँझ सुटुक्क सबैलाई झुक्याएर भोलिपल्टदेखि बिदा हुँदै छ भन्ने थाहा पाएर स्टक एक्सचेन्जको लागि नयाँ धन्दा सुरु गरेछ सरकारले, हामीलाई लागेको थियो सरकार जनतालाई ध्यान दिन्छ भनेर तर सरकार जनतालाई झुक्याउने काममा व्यस्त रहेछ ।’

उनले केही काम नहुनेले राजनीतिकै भरमा भ्रष्टाचार गरेको पैसाले मोजमस्ती गरेको आरोप लगाए । उनले भने,‘घर ठड्याएर बसेको छ । प्रगति गरेको छ । उद्योग छैन व्यापार छैन् । जागिर केहि छैन् । बढो सम्मान खाएको छ । भ्रष्टाचार गरेको पैसा हो यदि हामीले उज्यालो देखेको भए त्यसको आँट हुने थिएन भ्रष्टाचार गरेको पैसाले समाजमा घर ठड्याएर र नाक ठड्याएर हिड्न लाज हुन्थ्यो किनकी हामीले उज्यालो देख्न पाएनौ हाम्रो अध्यारोको फाईदा लिएर घर ठर्याउँछ । नाक ठर्याउँछ  ।’ 

Logo