‘नागरिकता विधेयकले नेपाल भारतबीचको सम्बन्धमा असर पर्छ’ : राजेन्द्र महतो (भिडियोसहित)

‘नागरिकता विधेयकले नेपाल भारतबीचको सम्बन्धमा असर पर्छ’ : राजेन्द्र महतो (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भएको नागरिकता सम्बन्धी विधेयकले नेपाल भारतबीचको रोटीबेटीको सम्बन्धमा असर पुग्ने जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले बताएका छन् । केन्द्रबिन्दु अनलाइनसँग विशेष अन्तवार्ता दिँदै सांसद महतोले सरकारको कदमले प्राचिन कालदेखि चल्दै आएको दुई देशबीचको सम्बन्धमा असर पार्ने बताएका हुन् ।

विवाह भएको केही समयमा वैवाहिक अंगीकृत नागरिकता दिँदा राष्ट्रियतामा असर नपुग्ने उनको भनाइ छ । २०६३ को अन्तरिम संविधान अनुसार अहिलेसम्म वैवाहिक अंगीकृत नागरिकता दिँदा केही असर नपरेकाले अब पनि सोही प्रावधान अनुसार नागरिकता दिनुपर्ने उनले बताए । विगतका सरकारले महाकाली जस्ता सन्धिमा राष्ट्रघात गर्दै आएकाले अहिलेका शासकले पनि एमसीसी सम्झौताका नाममा राष्ट्रघाती काम गर्न थालेको महतोले बताए । एमसीसी राष्ट्रघाती सम्झौता भएकोले यथास्थितीमा पास गर्न नसकिने उनको भनाइ छ ।

त्यस्तै सांसद महतोले दुई तिहाइ नजिकको नेकपाको सरकार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा असफल भएको बताए । सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा उचित कदम चाल्न नसकेकाले लकडाउनको समयमा पनि संक्रमण बढ्दै गएको उनको आरोप छ । सरकारले देशमा सुशासन कायम गर्ने, विकास निर्माणमा ध्यानदिन भन्दा पनि आफ्नो बचाउँ गर्नमा मात्रै केन्द्रीत भएको उनको दाबी छ । नेकपाको सरकार असफल हुँदै गएको जनआवाज उठ्दै गएको उनले बताए ।

सरकारले फिर्ता ल्याउन थालेको लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग नेपालको हो भन्ने स्पष्ट प्रमाण भएपनि नेपाली शासकले कुर्ची पाउने लोभमा गुमाएको उनको आरोप छ । महाकाली सन्धि गरेर राष्ट्रघात गर्नेलाई टुंडिखेलमा लगेर झुण्डाउनुपर्ने उनले बताए । अहिलेको कानुनी व्यवस्थामा राष्ट्रघात गर्नेलाई झुण्डाउने प्रावधान नभएपनि अब संशोधन गरेर बनाउनुपर्नेमा उनको जोड छ ।

वर्तमान संविधानमा धेरै असन्तुष्टि भएपनि राष्ट्रियताका सवालमा तराई मधेश केन्द्रीत दलले समर्थन गरेर सरकारलाई बल दिएकाले कुटनीतिक वार्ताका माध्यमबाट भूमि फिर्ता ल्याउन सरकार लाग्नुपर्ने उनले बताए । अहिलेसम्म देशमा पटक पटक राष्ट्रघात हुँदै आएकाले अब राष्ट्रघात गर्नेलाई खोजी खोजी कारबाही गर्नुपर्ने उनको भनाइ छ । सांसद महतोले संविधान संशोधनमा सरिता गिरीले असहयोग गरेकाले उनलाई तराई मधेशका जनताले नछोड्ने बताए ।राष्ट्रियताका विषयमा संवेदनशील भएर अगाडि बढ्नुपर्नेमा उनको जोड छ ।

सरकारको काम कारबाही, संविधान संशोधन, एमसीसी सम्झौता, नयाँ दलमा पद व्यवस्थापन र नागरिकता विधेयकमा केन्द्रीत रहेर जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोसँग केन्द्रबिन्दुका सरोज बस्यालले कुराकानी गरेका छन् । कुराकानीको पूरा अंशः

Logo