मंसिर ४ गते अर्थतन्त्र सुधार्न विशेष प्याकेज घाेषणा गर्दैछाैंः प्रधानमन्त्री प्रचण्ड

मंसिर ४ गते अर्थतन्त्र सुधार्न विशेष प्याकेज घाेषणा गर्दैछाैंः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त अधिकार उल्टाउने कोसिस गरिएको भन्दै एकतावद्ध भएर परास्त गरिने बताएका छन् ।

शुक्रबार दिउँसो तनहुँको आबुखैरनीमा आय‍ोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

‘नेपाली जनताले निकै ठूलो संघर्ष र बलिदान गरेका कारण देशमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगले अधिकार पाएका छन्, केही सामन्ती तत्वलाई जनताले अधिकार पाएको कुरा पचेको छैन, उनीहरू विभिन्न षड्यन्त्रमा लागेका छन्,’ प्रधानमन्त्रीले भने, ‘बिहान मात्रै मैले सुरक्षा निकायका प्रमुखहरूसँग कुरा गरेको थिएँ, देशको सुरक्षा अवस्था सामान्य छ, १२ बुँदे समझदारीका पक्षधर शक्ति परिवर्तनको रक्षाका निम्ति एकैठाउँ छौं। त्यसैले प्रतिगामी दुस्साहसलाई दृढताका साथ परास्त गर्छौं।’

प्रधानमन्त्री प्रचण्डले माओवादी नेतृत्वको सरकारले देश र जनताका पक्षमा महत्त्वपूर्ण कामहरू गरेकोसमेत जनाएका छन । ‘भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापित, जनतालाई सेवा दिने कुरामा हामी इमानदार भएर लागेका छौं,’ उनले भने, ‘भ्रष्टाचारका फाइलहरू खोलिँदैछ, यो प्रक्रिया रोकिन्न। सरकारले राम्रो काम गरेका कारण प्रतिगामीहरू आत्तिएका छन्। त्यसैले सरकारले गरेका राम्रा काम जनतामा लैजाऔं ।’

आफूले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको जनाउँदै उनले अहिले राम्रो सुधार आएकोसमेत दाबी गरे । ‘तर दवाबमुक्त भइसकेको छैन,’ उनले भने, ‘मंसिर ४ गते मैले अर्थतन्त्र सुधार्न बृहत बैठक बोलाएको छु, त्यो बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुनेछ। उक्त बैठकले ठोस प्याकेज घोषणा गर्नेछ र अर्थतन्त्रमा सुधार ल्याइनेछ।’

Logo