तापमान वृद्धि सीमित गर्न विकसित राष्ट्रको प्रतिबद्धता पूरा गराउन पैरवी गर्छौंः प्रधानमन्त्री

तापमान वृद्धि सीमित गर्न विकसित राष्ट्रको प्रतिबद्धता पूरा गराउन पैरवी गर्छौंः प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलनमा विश्व तापमान वृद्धिलाई सीमित गर्न विकसित राष्ट्रहरुलाई आफ्नो प्रतिबद्धता एवं जिम्मेवारी पालना गराउन सशक्त पैरवी गर्ने बताएका छन् ।

मंगलबार राष्ट्रिय जलवायु सम्मेलन समापन तथा कोप–२८ मा सहभागिता बारे आयोजित कार्यक्रमलाई सम्बोधन प्रधानमन्त्री प्रचण्डले अनुकूलनका लागि दोब्बर घोषणा गरिएको वित्त प्रवाह अनुदानस्वरूप प्रदान गर्ने सहमतिको शीघ्र र पूर्ण कार्यान्वयनमा नेपालले गम्भीरतापूर्वक आफ्नो दावी गर्ने पनि बताए ।

उनले भने, ‘अर्को हप्तादेखि हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औं सम्मेलन (कोप–२८) मा मेरो नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले भाग लिँदैछ । सम्मेलनमा विश्व तापमान वृद्धिलाई सीमित गर्न विश्वका धनी र विकसित राष्ट्रहरुलाई आफ्नो प्रतिबद्धताको जिम्मेवारी पालनाका लागि नेपालले सशक्त पैरवी गर्नेछ । अनुकूलनका लागि दोव्बर घोषणा गरिएको वित्तको प्रवाह अनुदानस्वरूप प्रदान गर्ने सहमतिको शीघ्र र पूर्ण कार्यान्वयनमा नेपालले गम्भीरतापूर्वक आफ्नो दावी प्रस्तुत गर्नेछ ।’

नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा छ भन्ने कुरा अब निर्विवाद सत्य भइसकेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले परिवर्तित जलवायुले मनसुन वर्षाको प्रवृत्ति मात्रा तथा समय तालिकामा व्यापक परिवर्तन भइरहेको बताए । वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक परिवर्तन, तापक्रम वृद्धि तथा वर्षामा आएको फेरबदल, प्रकोप र विपद्का वृद्धि र अतिशय घटनाका कारण बहुपक्षीय चुनौतीहरुको सामना गर्नु परिरहेको उनले बताए । 

विश्वव्यापी तापक्रम वृद्धिलाई रोक्न नसके बढ्दो जलवायुजन्य प्रकोप, खाद्य सुरक्षा र पानीको उपलब्धतामा कमी आउनुका साथै नेपाल लगायतका विकासोन्मुख देशहरुमा जलवायु–उत्थानशील विकासको सम्भावनामा गम्भीर असर पर्ने उनको भनाइ छ ।

Logo