‘अंगीकृत नागरिकताका सम्बन्धमा कांग्रेसको ताल देखेर आश्चर्य लाग्छ’ : कमल थापा

‘अंगीकृत नागरिकताका सम्बन्धमा कांग्रेसको ताल देखेर आश्चर्य लाग्छ’ : कमल थापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वैवाहिक अंगीकृत नागरिकता विधेयकको विषयमा बोलेका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्षे प्रावधान ठीक रहेको बताएका छन् ।

अध्यक्ष थापाले छिमेकी मुलुक भारतको उदाहरण दिँदैे नेपालमा वैवाहिक अंगीकृत नागरिकताको प्रावधान ७ वर्ष राख्न खोज्दा काङग्रेसले विरोध गर्नु आश्चर्यजनक भएको बताएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले नेपालीसँग विवाह गरेर आउने विदेशी महिलाले ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउने निर्णय गरेको थियो भने यस विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेसवादी दलहरुले नेकपाको निर्णयको विपक्षमा रहेका बेला राप्रपा अध्यक्ष थापा नेकपाको निर्णयको पक्षमा देखिएका छन् ।

उनले भनेका छन् , ‘१ अर्ब ३० करोड जनसंख्या भएको भारतमा भारतीय नागरिकसँग विवाह गर्नेले नागरिकताको लागि दरखास्त दिन कम्तिमा ७ वर्ष पर्खनु पर्छ । ३ करोड जनसंख्या हुने नेपालले ७ वर्षको आधार राख्न खोज्दा विरोध गर्नु आश्चर्यजनक छ ।’ उनले सामाजिक सञ्जालमा अध्यक्ष थापाले लेखेका छन्, ‘के ‘रोटीबेटी’ को चिन्ता नेपाललाई मात्र हो ? यस विषयमा कांग्रेसको ताल देखेर आश्चर्य लाग्छ ।’

यो विधेयक अहिले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको छ । समितीले यो विषय ५ दिनभित्र सहमति गर्न समय समेत दिएको छ । तर यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र मधेसवादी दलहरुले अहिलेकै प्रावधान अनुसार विवाहलगत्तै अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने प्रावधान राख्नु पर्ने अडानमा रहेका छन् । अहिलेको प्रावधान अनुसार नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले बिहे लगत्तै नागरिकता पाउने प्रावधान छ ।

Logo