ओलीको बुझाईमा कोइराला समूह नै काँग्रेसको मुख्य धार

ओलीको बुझाईमा कोइराला समूह नै काँग्रेसको मुख्य धार

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेताहरुले आफ्नो पार्टीको प्रभाव कमजोर हुँदै गएर अर्काको हात समाएर हिँड्नुपरेकामा चिन्ता जनाएका छन्। पार्टी नेतृत्वमा उच्च नैतिकता र आत्मविश्वासको अभाव भएकाले इतिहास बिर्सेर निर्वाचनमा समेत विपरित विचारका दलसँग सहकार्य गर्नुपरेको उनीहरुको भनाई छ।  

कोशी प्रदेशको सत्ता परिवर्तनमा नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व चुकेको र पार्टीभित्रकै कोइराला समूहले नेकपा एमालेसँग समीकरण गरेर मुख्यमन्त्री पदमा आफ्नो पक्षको नेतालाई बिजयी गराएको प्रसंगले कांग्रेस राजनीति तताएको छ। प्रदेश सरकार गठन गर्दा आफूलाई उपेक्षा गरेको भनेर असन्तुष्टि जनाएपनि एमालेले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थनलाई निरन्तरता दिने बताएको छ। 

कोइराला समूहका भनी चिनिएका कार्कीलाई मुख्यमन्त्री पदको उम्मेदवार नै बनाउने कि नबनाउने भन्ने बिषयमा सभापति शेरबहादुर देउवा र उनका सहयोगी स्पष्ट थिएनन्। उनीहरुको अलमल जसरी हुन्छ आफ्नै समूहको नेतालाई मुख्यमन्त्री बनाउन पाए हुन्थ्यो भन्ने उदेश्यमा केन्द्रित रहेको बुझेपछि नेता कोइरालाले केदार कार्कीलाई अघि सारेर एमालेको सहयोग जुटाएका थिए।

गएको शनिबार काठमाडौंस्थित एमाले मुख्यालयमा वर्गीय संगठनका नेताहरुको भेलामा अध्यक्ष केपी शर्मा ओलीले नेता शेखर कोइरालालाई नेपाली कांग्रेसको मुख्यधार भनेर चर्चा गरेका थिए। विश्वस्त सूत्रबाट थाहा भए अनुसार उनले माओवादीसँग सहकार्य गरिरहेको संघीय सरकारमा कांग्रेसको मुख्यधार नरहेको अथ्र्याउँदै कोइरालासँग मात्र पार्टीको सहकार्य रहेको भनेर बुझ्न नेता कार्यकर्ताहरुलाई सम्झाएका थिए। सभापति शेरबहादुर देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रभावमा पुरै परिसकेकोले नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व हलनचलको अवस्थामा पुगेकाले नेता कोइराला नै कांग्रेसको मुख्यधार हुनसक्ने विश्वास आफूलाई लागेको भनेर अध्यक्ष ओलीले लामो चर्चा गरेका थिए।

कोशी प्रदेशको सत्तासमीकरण परिवर्तन भएपछि नेपाली कांग्रेस मोरङले स्थानीय निकायका पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिहरु र नेता कार्यकर्ताको सम्मेलन आयोजना गरेर नेता कोइरालालाई सम्बोधन गर्ने तारतम्य मिलाएको थियो। सम्मेलनमा नेता कोइरालाले भ्रष्टाचार र दण्डहीनता बढेकै कारण नेपाली जनतामा निराशा बढ्दै गएको बताए।

विराटचोकमा बुधबार आयोजित १७ वटै पालिकाका ३ हजार ५ सय ५५ जना क्षेत्रीय प्रतिनिधिहरू सहभागी सम्मेलनमा नेताहरुले गणतन्त्रमाथि नै प्रश्न उठ्न थालेको भनेर चर्चा गरेका थिए।

नेता कोइरालाले गणतन्त्र के लागि भनेर प्रश्न उब्जिएको बताए। उनले ‘देशमा राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक अराजकता बढ्दै गएको’ प्रसंग कोट्याँदै, ‘दण्डहीनता र भ्रष्टाचार पनि मौलाएको  र केका लागि र कसका लागि गणतन्त्र भनेर प्रश्न उब्जिएको’ भनेर प्रश्न उठाएका थिए। 

पार्टीको नेतृत्वप्रति संकेत गर्दै नेता कोइरालाले उच्च नैतिकता र आत्मविश्वासका साथ कांग्रेस अगाडि बढ्नुपर्नेमा जोड दिए। युवाहरूको विदेश पलायनका कारण नेपाल बुढ्यौलीहरूको देश बन्ने अवस्था देखिएकामा चिन्ता गर्दै पछिल्लो समय अध्ययनका लागिसमेत विदेश जाने युवाहरू बढ्दै गएको चर्चा गरे। 

गत आर्थिक वर्ष अध्ययनकै लागि १ खर्ब ४२ अर्ब रुपैयाँ बाहिरिएको तथ्यांक प्रस्तुत गर्दै नेता कोइरालाले युवाहरूको विदेशमोह बढ्दै जानु चिन्ताको विषय भएको बताए । कांग्रेसका अर्का नेता महेश आचार्यले अहिले संसद संसदजस्तो र न्यायालय न्यायालयजस्तो नभएको टिप्पणी गरे। ‘अहिले के संसद संसदजस्तो छ? न्यायालय न्यायालय जस्तो छ? वीपीले निर्माण गरेको कांग्रेस कांग्रेस जस्तो छ?’ आचार्यले प्रश्न गरे, ‘गठबन्धन गरेर चुनावमा जानुपर्ने अवस्था आउनु कांग्रेस त्यति धेरै कमजोर र निरीह भएको हो?’  

अर्का नेता डा. मीनेन्द्र रिजालले कांग्रेसले आफ्नै योगदान बिर्सिएको चर्चा गर्दै कस्तुरीले आफ्नो वासना खोजे जसरी कांग्रेसले आफ्नो वासना खोज्दै हिँड्नुपरेकोमा चिन्ता गरे। ‘कांग्रेसले देशको प्रजातान्त्रिक आन्दोलन र संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको, प्रसंग उल्लेख गर्दै रिजालले भने, ‘तर कांग्रेसले प्रजातन्त्र र देशका लागि गरेको योगदान जनतालाई बुझाउन सकिरहेका छैन।’
 
नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि पहिलोपटक आयोजित सम्मेलनलाई केन्द्रीय सदस्यहरु डा. डीला संग्रौला, अमृत अर्याल, भीम पराजुली, कोशी प्रदेश सभापति उद्धव थापा, उपसभापति रमेशजंग रायमाझी, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बू, विराटनगर महानगरपालिकाका मेयरसमेत रहेका उपसभापति नागेश कोइराला, सचिव ललित श्रेष्ठलगायतले कांग्रेसको एकतामा जोड दिएका थिए। 

Skip This
Logo