लोकतान्त्रिक व्यवस्थाविना हिंसा अन्त्य गर्न सकिँदैनः मन्त्री महत

लोकतान्त्रिक व्यवस्थाविना हिंसा अन्त्य गर्न सकिँदैनः मन्त्री महत


अर्थमन्त्री डा. प्रकाशशरण महतले लोकतान्त्रिक व्यवस्थाबिना हिंसा अन्त्य गर्न नसकिने बताएका छन् ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ समारोहलाई सम्बोधन गर्दै मन्त्री महतले लोकतान्त्रिक व्यवस्था र कानूनी व्यवस्थाबिना हिंसा अन्त्य गर्न नसकिने बताएका हुन् । ‘यहीकारण हामीले लोकतन्त्र स्थापनाको आन्दोलनलाई उच्च महत्व दियौं । त्यो नभइकन कुनै पनि कमजोर वर्ग, समूह, क्षेत्रको विरुद्ध हिंसा कम गर्न सक्दैनौं’ उनले भने, ‘महिलाविरुद्धको हिंसा पनि कम गर्न सक्दैनौं ।’

अधिकार, लोकतन्त्र, रोजाईको अधिकार, कतै शोषण भयो भने त्यसलाई कानूनले निषेध गर्ने, सजाय सुनिश्चित गर्ने भन्दै उनले लोकतान्त्रिक व्यवस्थालाई कमजोर पार्ने कुनै पनि प्रवृत्तिले महिला विरुद्धको हिंसा कम गर्न नसक्ने बताए । ‘लोकतान्त्रिक व्यवस्थामा मात्रै कमजोरमाथि हुने हिंसा कम हुन्छ’ उनले भने ।
 
महिला हिंसा समाप्त पार्न गैरसरकारी तहमा विभिन्न संघ संस्थाहरु लागिरहेको भन्दै मन्त्री महताले यसमा उनीहरुको ठूलो भूमिका हुने उल्लेख गरे ।

‘महिला माथिको हिंसालाई शारीरिक रुपमा र स्रोतको रुपमा जो बलियो छन्, उनीहरुले गर्ने हिंसा भन्ने बुझेको छु । त्यसकारण हामीले स्रोतका हिसाबले सम्पन्न गर्नुपर्यो र शारीरिक कमजोरीको फाइदा उठाएर हुने हिंसालाई कानूनले रोक्ने परिवेश निर्माण गर्नुपर्छ’ उनले भने ।

अधिकारको आन्दोलन, लोकतन्त्रको आन्दोलन, अभिव्यक्ति स्वतन्त्रताको आन्दोलन आफ्नो क्षमता, योग्यताअनुसार पेशा व्यवसाय, रोज्न पाउने आन्दोलन समग्रमा लोकतन्त्रसँग जोडिएको उनको भनाइ छ । 

महिलाको छुट्टै संगठन, सहभागिता, आवश्यकतालाई सम्बोधन गर्ने किसिमको बजेटको व्यवस्था रहेको भन्दै मन्त्री महताले तर त्यसका केही सीमाहरु रहेको बताए । ‘हामीले ज्येष्ठ नागरिक, दलितलगायत सिमान्तकृत क्षेत्रलाई हेरे विभिन्न अनुदानहरु प्रदान गरेका छौं यो सबैलाई बजेट छुट्याउँदा सबै गर्दा हामी दबाबमा छौं’ उनले भने, ‘हामी दबाबमा भए पनि यसमा काम गर्ने छौं ।’

Logo