गलत प्रवृत्ति लिएर आएका केही व्यक्तिले पार्टीमा समस्या ल्याउन सक्छन्ः रवि लामिछाने

गलत प्रवृत्ति लिएर आएका केही व्यक्तिले पार्टीमा समस्या ल्याउन सक्छन्ः रवि लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अन्य दलबाट प्रवेश गरेका केही व्यक्तिले पार्टीमा समस्या ल्याउन सक्ने खतरा औँल्याएका छन्।

महोत्तरीको जलेश्वरमा तीन दिनसम्म चलेको पार्टीको केन्द्रीय बैठकमा बुधबार राजनीतिक प्रतिवेदन पेश गरेका उनले रास्वपमा अन्य दलबाट प्रवेश गर्ने अधिकांश असल, निष्ठावान र इमानदार भएपनि केही व्यक्ति भने गलत प्रवृत्तिका रहेको स्वीकार गरेका हुन्।

गलत प्रवृत्ति बोकेर आएकाहरूले पार्टी पङ्तिलाई दबाब र प्रभावमा पार्न सक्ने उनको आशङ्का छ। ‘केही पूर्व पार्टीकै गलत प्रवृत्ति बोकेर आएको देखिन्छ। फरक राजनीतिक संस्कार र संस्कृतिको पक्षपाती हामीलाई तीमध्ये खराबहरूले क्रमशः दबाब र प्रभावमा पनि पार्न सक्ने देखिन्छ’,रविले प्रतिवेदनमा भनेका छन्।

अरू दलमा उचित स्थान नपाएर, स्वार्थ पूरा हुने नदेखेर रास्वपामा अवसरका लागि प्रवेश गर्नेप्रति सचेत हुन उनले पार्टीपङ्तिलाई आग्रह पनि गरेका छन्। ‘नयाँ दलमा तत्काल सम्भावनाको अवसर पाइन्छ भन्ने लोभले आएकाहरूले हामीलाई बदनाम गराउने सम्भावना पनि बढी नै हुन्छ। यसतर्फ पनि हामी बेलैमा सचेत हुनुपर्छ’,प्रतिवेदनमा भनिएको छ।

पार्टीको संगठनप्रति आकर्षण रहेकाले सचेत बन्नुपर्ने रविको जोड छ। सदस्य, शुभेच्छुक बढिरहेका बेला सचेत, सजग र कठोर हुनुपर्ने उनले प्रतिवेदनमा उल्लेख गरेका छन्। ‘हामी बेलैमा सचेत र सजग भएनौँ भने पुराना राजनीतिक दलको गलत प्रवृत्ति रास्वपामा छिट्टै सर्छ। पुरानो प्रवृत्ति लिएर हामी सफल हुन सक्दैनौँ’, सभापति लामिछानेले प्रतिवेदनमा भनेका छन्।

Logo