बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक आह्वान गरेका छन्। उनले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन्।
गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन्। प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए। बैठकले प्रदेश सभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउने बताइएको छ।
प्रदेश सरकार गत असारमा बजेट कार्यक्रम पारित गर्दाको चरणमा प्रतिपक्ष दलहरूसँग गरेको सहमतिका कारण दबाबमा छ। चालु आर्थिक वर्ष २०८०-०८१ को बजेट कार्यक्रम पारित गर्दाको समयमा मुख्यमन्त्री जम्कट्टेलले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र प्रतिपक्ष दल राप्रपासँग गरेको सम्झौता अहिले सरकारको लागि समस्याको विषय बनेको हो।
बजेट पारित भएपछि पनि प्रतिपक्ष दलहरूसँगको सम्झौताका कारण गत भदौ र असोजमा बजेको प्रदेशसभा बैठकहरू समेत अवरुद्ध बनेको थियो। गत असार २२ गते बजेट पारित गर्दाको समयमा सत्तापक्ष र प्रतिपक्षको बिचमा भएको आन्तरिक सम्झौतामा विवाद हुँदा भदौ र असोज महिनामा आह्वान गरिएका बैठकहरू अवरुद्ध हुँदा प्रदेशसभाका काम कारबाही समेत प्रभावित बनेको थियो।































प्रतिक्रिया