महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलामाथि विभिन्न बहानामा हुने गरेको हिंसा अझै पनि हट्न नसकेको बताएका छन्। लैङ्गिक हिंसा विरुद्धको अन्तरराष्ट्रिय १६ दिने अभियानको अवसरमा मानसिक स्वास्थ्य र महिला हिंसासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
महिलामाथि हुने हिंसा नहटेसम्म समाज समतामूलक बन्न नसक्ने बताएका छन्। कार्यक्रममा मन्त्री आचार्यले भने, ‘नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको मात्रै होइन, यसलाई कार्यान्वयन गर्न विभिन्न प्रकारका कानून पनि बनेका छन् । यति हुदाँ पनि महिलामाथि हुने, दुर्व्यवहार र हिंसा हट्न सकेको छैन ।’
कानूनले वर्जित गरेको बोक्सी, छाउपडी प्रथा, दाइजो, घरेलु महिला हिंसा जस्ता अमानवीय दुर्व्यवहारहरु अझै पनि समाजमा कायम हुनु अहिलेको आधुनिक र सभ्यका लागि लज्जाको विषय हो भन्दै उनले यस्ता घटनामा केही कमी आए पनि अझै समाजमा विकृति र विसंगतिहरु कायम रहनु, विडम्बनापूर्ण रहेको उल्लेख गरे ।
महिलामाथि हुने यस्ता कुप्रथा नहटाएसम्म संविधानले कल्पना गरेको समतामूलक र न्याय पूर्ण समाज सम्भव नभएको मन्त्री आचार्यको भनाइ छ। ‘कुप्रथा हटाउन हामी सबैजना एकजुट भएर लाग्नुपर्छ’ उनले भने।
उनका अनुसार यस्ता कुप्रथा हटाउन खासगरी तीन कुरामा ध्यान दिनुपर्छ। पहिलो, संविधान र कानूनले जति व्यवस्था गरेपनि समाजमा सचेतनाको अभाव रहेको हुनाले सचेतनामूलक कार्यक्रमलाई व्यापक बनाउन जरुरी छ।
दोस्रो, महिलामाथि हुने हिंसाविरुद्धको अभियानमा पुरुषको सहभागिता सुनिश्चित गर्नुपर्छ र तेस्रो, महिलाहरुलाई आत्मनिर्भर बनाउनुपर्छ।नीति तथा कार्यक्रममा नै महिलाका लागि विभिन्न किसिमका योजनाहरु बनाउँदै सरकारले कुल बजेटको करिब २० प्रतिशतको हाराहारीमा लैङ्गिक समानताका लागि बजेट छुट्याउने गरेको उनले दाबी गरे ।
महिलामाथिको हिंसा र कुप्रथाहरु हटाउन जनचेतनामूलक कार्यक्रम अझ बढी सञ्चालन गर्नुपर्नेमा जोड दिंदै मन्त्री आचार्यले यसमा सरकार गम्भीर भएर लागेको उल्लेख गरे।





























प्रतिक्रिया