जनतासँग जोड्न सकेमात्र कांग्रेस परिवर्तन हुन्छः शेखर कोइराला

जनतासँग जोड्न सकेमात्र कांग्रेस परिवर्तन हुन्छः शेखर कोइराला


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र परिवर्तन हुने बताएका छन् । 

चितवन–काठमाडौँ प्रजातान्त्रिक सङ्गमको ३३औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनको आज उद्घाटन गर्दै नेता कोइरालाले पार्टीलाई परिवर्तन गर्दै बलियो बनाउनका लागि जनतामाझ जानुपर्ने बताएका हुन् ।

“देशलाई सम्हाल्ने लोकतान्त्रिक पार्टी कांग्रेस हो । कांग्रेस परिवर्तन नभई मुलुक परिवर्तन हुन सक्दैन । कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र पार्टी परिवर्तन भएर अगाडि बढ्न सक्छ”, उनले भने । उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा चितवनको महत्त्वपूर्ण भूमिका रहेको बताए । 

“केही समयदेखि चितवन प्रजातान्त्रिक आन्दोलनभन्दा अलग बाटोबाट हिँडिरहेको छ । यो कांग्रेसकै केन्द्रीय नेतृत्वका कारण भएको हो । यसको नतिजा चितवनमा कांग्रेसको सङ्गठन कमजोर हुँदै गएको छ । यसलाई बलियो बनाउन सबै एकजुट हुनुपर्छ”, नेता कोइरालाले भने । यहाँका क्षेत्र, पालिका, वडामात्र नभई टोलमा समेत व्यक्तिवादी चरित्र हाबी हुँदा पार्टी सङ्गठन कमजोर हुँदै गएको उनको भनाइ थियो ।

नेता कोइरालाले कांग्रेस एक्लै चुनाव लडे मात्र बलियो पार्टी बन्ने बताए । “जबसम्म हामी एक्लै चुनाव लड्न सक्दैन तबसम्म पार्टी झन्झन् कमजोर हुँदै जान्छौँ”, उनले भने । उनले देशको आर्थिकस्थिति विदेशीसँग ऋण लिएर कर्मचारीलाई तलब खुवाउने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले स्वदेशमा अध्ययन र काम गर्ने वातावरण नभएकाले गत वर्षमात्र प्लस टु पढेर एक लाख २७ हजार विद्यार्थी विदेश गएका भन्दै उक्त युवाशक्तिलाई स्वदेशमा रोक्नका लागि सरकारले ठोस कार्यक्रम अगाडि सार्नुपर्ने बताए । कुनै पनि देशलाई समृद्ध बनाउन कृषि उत्पादन बढाउन जरुरी रहेको उनको भनाइ थियो । 

देशका ठूला भ्रष्टाचारमा राजनीतिक नेता, कर्मचारी र व्यापारी जोडिएको भन्दै भ्रष्टाचार अन्त्य नगरेसम्म देशको विकास नहुने नेता कोइरालाले बताए । महाधिवेशन भएको दुई वर्ष बित्न लाग्दासम्म पार्टीको भ्रातृ संस्था तथा विभागलाई पूर्णता दिन नसक्नु पार्टी नेतृत्वको कमजोरी भएको उनले बताए । 

Logo