सप्तरीका युवाहरूले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
सप्तरी युथ नेपालका तर्फबाट बिहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर युवाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्थानीयबासीको १० हजार हस्ताक्षर बुझाएका छन्।
प्रतिष्ठान निर्माण गर्न सरकारले ढिला गरेपछि युवाहरूले हस्ताक्षर संकलन गरी बुझाएर सरकारलाई दबाब दिएका हुन्। जवाफमा प्रधानमन्त्री दाहालले प्रतिष्ठानको काम अघि बढाउने प्रतिवद्धता जनाए। उनले प्रष्ठिानको रिक्त पदाधिकारी नियुक्ति लगायतका सबै काम अघि बढाउने बताए।
‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका विषयमा म जानकार छु, कानुनी र प्राविधिक सबै कुरा अघि बढ्छ,’ प्रधानमन्त्री दाहालले भने। सरकारले सप्तरीको राजबिराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो।
प्रतिष्ठानको शिलान्यास समेत भइसकेको छ। तर काम भने अघि बढेको छैन। सरकारले प्रतिष्ठानमा पदाधिकारी नियुक्त र आवश्यक बजेट भने दिएको छैन।





























प्रतिक्रिया