प्रत्यारोपण केन्द्र विस्तारका लागि जग्गा उपलब्ध गराइने

प्रत्यारोपण केन्द्र विस्तारका लागि जग्गा उपलब्ध गराइने

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विस्तारका लागि आवश्यक जग्गा उपलब्ध गराउन प्रक्रिया सुरु भइसकेको बताएका छन्।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अङ्ग प्रत्यारोपण समाज नेपालद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा मन्त्री बस्नेतले प्रधानमन्त्रीको पटक पटकको निर्देशनपछि केन्द्र विस्तारका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको जानकारी दिए।

‘बिरामीले खचाखच हुने यो केन्द्रको विस्तारका लागि भक्तपुर र नागार्जुनमा चाँडै जग्गा उपलब्ध गराउने छौँ’, उनले भने, ‘जग्गा उपलब्ध गराउन प्रधानमन्त्रीबाट पटक पटक निर्देशन आइसकेको छ। अब जग्गाको लागि भौँतारिनुपर्ने अवस्था छैन। जग्गाको विषय चाँडोभन्दा चाँडो टुङ्गोमा पुर्‍याउन मन्त्रालय प्रतिबद्ध छ।’ उनले भविष्यमा स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन तत्काल चिकित्सा शिक्षा ऐनमा संशोधनको आवश्यकता भएको बताए।

प्रतिनिधिसभा सदस्य राजेन्द्र पाण्डेले चिकित्सा शिक्षा ऐन संशोधन गर्न आवश्यक भएको बताउँदै स्वास्थ्य क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादनमा चिकित्सा शिक्षा ऐनले बाधा पुगेकाले त्यसलाई संशोधन गर्न आवश्यक भएकामा जोड दिए।

ऐन संशोधन नहुँदा ७३ वटा नर्सिङ कलेज बन्द भएका छन् भने रु एक खर्ब ४३ अर्ब चिकित्सा शिक्षा अध्ययन गर्न विदेश जानेले बाहिर लगेका बताए।

त्यसअवसरमा पूर्वमन्त्री महेश, सांसद रञ्जु झा, केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले केन्द्रले प्रवाह गरेका सेवाबारे जानकारी दिँदै त्यसलाई अझ सुविधासम्पन्न बनाउनुपर्नेमा जोड दिएका थिए।

Logo