वामपन्थी शक्तिलाई कमजोर पारेर चीनविरुद्ध उभ्याउने षड्यन्त्र भयाेः झलनाथ खनाल

वामपन्थी शक्तिलाई कमजोर पारेर चीनविरुद्ध उभ्याउने षड्यन्त्र भयाेः झलनाथ खनाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सम्मानित नेता झलनाथ खनालले अहिले कम्युनिष्ट पार्टीहरूलाई विभाजित गरेर मिल्नै नदिने गरी चीनविरुद्ध उभ्याउने षड्यन्त्र भइरहेको बताएका छन् ।

बुधबार ललितपुरमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै नेता खनालले अहिले देशका वामपन्थी शक्तिहरूलाई कमजोर पार्ने कार्य भैरहेको बताएका हुन् ।
 
उनले भने, ‘वामपन्थी शक्तिहरूलाई कमजोर पार्ने अनि दक्षिणपन्थी शक्तिलाई बलशाली र सुदृढ गर्न चाहनेहरु आउने निर्वाचनमा कार्यनीतिकरूपले त्यो शक्तिलाई बहुमत ल्याएर विजयी गराउन चाहन्छन् । त्यसैले दक्षिणपन्थी शक्तिलाई पोषण गर्ने काम धेरै अगाडिदेखि भइरहेको छ ।’

उनले थपे ‘अहिले हामी जटिल परिस्थितिका बीचबाट जाँदैछौं । यो सबै कुराको उद्देश्य भनेको नेपाललाई आफ्नो नियन्त्रणमा लिएर सम्भव भएसम्म समाजवादी चीनका विरुद्ध उभ्याउन चाहन्छन् । त्यसैले हामीले पार्टी निर्माण गर्ने, जनतालाई सचेत बनाई सही नेतृत्व दिने काममा भूमिका निर्वाह गर्नु आवश्यक छ ।’

नेकपा एसले पार्टीको विधान संशोधनका लागि तीन दिने केन्द्रीय कमिटीको बैठक राखेको छ । जारी बैठकमा बोल्दै खनालले महाधिवेशनबाट धेरैलाई पार्टीमा ल्याउन नसके आगामी निर्वाचनमा गाह्रो पर्ने धारणा राखे । 

खनालले भने, ‘हामी धेरै मान्छेलाई रुपान्तर र गोलबद्ध गरी फराकिलो छाती बनाएर कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने दिशातिर लागेनौं भने ०८४ को चुनावमा बामपन्थीहरुलाई एक्लै पारेर धुल्याउने योजना छ । यो बुझिराख्नुहोला । अहिल्यैदेखि हामीले तयारी गर्न सक्नुपर्छ । कुनबाट एकता तयारी हुन्छ, त्यो तयारी गर्न सकेनांै भने गाह्रो छ । एउटा गीत छनि ‘गाह्रो छ है गाह्रो छ’ भन्ने त्यस्तै गाह्रो छ ।’
खनालले नेकपा एसको महाधिवेशनका लागि नेतृत्व चयनको विषय नेताहरुको सहमतिबाटै गरिने उल्लेख गर्दै संसारको सबभन्दा सर्वोत्तम लोकतन्त्रको पक्षधर पार्टी नेकपा एस नै हो भनेर स्थापित गर्नुपर्ने बताए । 

‘नेकपा एस पूँजीवादी लोकतन्त्रको मात्र होइन,यो समाजवादी लोकतन्त्रका लागि लड्ने पार्टी हो र संसारको सबभन्दा सर्वोत्तम लोकतन्त्रको पक्षधर पार्टी हो भनेर हामीले स्थापित गर्नुपर्ने छ,’ खनालले भने ।

Skip This
Skip This
Logo