गृहमन्त्रीमाथि पोखिँदै रवि लामिछानेले भने- दुई युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नुपर्ने बनाइदिए

गृहमन्त्रीमाथि पोखिँदै रवि लामिछानेले भने- दुई युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नुपर्ने बनाइदिए

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ललितपुरको बालकुमारीमा आज भएको घटनाले गृह मन्त्रालयको अक्षमता पुनः एकपटक उदाङ्गो भएको टिप्प्पणी गरेका छन् । 

वर्तमान गृहमन्त्री सर्वहारा वर्गको नारा लगाउँदै त्यो पदमा पुगेको बताएका  सभापति लामिछानेले यस्तो टिप्प्पणी गरेका हुन् । घटनापश्चात् सामाजिक सञ्जालमा समवेदना लेख्न होडबाजी गर्ने सत्तामा भएका दलका नेताले समस्या समाधान गर्ने तर्फ पनि उतिकै हतार गरेको भए सायद आज यो घटना नहुने उनको भनाई छ । 

‘आज बालकुमारीमा भएको घटनाले गृह मन्त्रालयको अक्षमता फेरी एकपटक उदाङ्गो भएको छ। दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नु पर्ने बनाइ दिए। यो राज्यले गरेको हत्या हो, जुन राज्यका गृहमन्त्री सर्वहारा वर्गको नारा लगाउँदै त्यो पदमा पुगेका हुन्। आज भएको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्छ। घटना पश्चात् सामाजिक सञ्जालमा समवेदना लेख्न होडबाजी गर्ने सत्तामा भएका दलका नेताले समस्या समाधान गर्ने तर्फ पनि उतिकै हतार गरेको भए सायद आज यो घटना हुने थिएन होला।’ उनले लेखेका छन्, ‘रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउने कि नपाउने भन्ने सामान्य ‘प्राविधिक’ विषयको विवाद बढेर ती दुई नेपालीले ज्यानै गुमाउनु पर्ने स्थिति देख्दा मर्माहत भएको छु । शोकाकुल परिवार र आफन्तजनमा हार्दिक समवेदना ।’

ललितपुरको बालकुमारीमा आज भएको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ । कोरिया जानका लागि लिइने रोजगारी अनुमति प्रणाली (इपिएस)को परीक्षा दिन नपाएको भन्दै युवाहरुले आज प्रदर्शन गरेका थिए । सो क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार  गाडीमा आगजनी गरेका थिए । त्यसपछि भएको झडपका क्रममा घाइते भएका डोटीका २२ वर्षे वीरेन्द्र साह र दैलेखका २३ वर्षे सुजन रावतको मृत्यु भएको हो ।  

Logo