अर्थमन्त्री महतले कांग्रेस बैठकमा गराए मुलुकको आर्थिक अवस्थाबारे जानकारी

अर्थमन्त्री महतले कांग्रेस बैठकमा गराए मुलुकको आर्थिक अवस्थाबारे जानकारी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको विद्यमान आर्थिक अवस्था र भावी कार्यदिशाबारे नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकलाई जानकारी गराएका छन् । 

अर्थमन्त्री महतले पछिल्लो एक वर्षमा आर्थिक क्षेत्रमा भएका काम र भविष्यमा सम्पादन गरिने कामबारे आज पार्टीलाई जानकारी गराएको उनको निजी सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठकमा मन्त्री महतले उच्च, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने, मौद्रिक तथा वित्तीय क्षेत्रमा सुधार, बाह्य क्षेत्र सुधार र सार्वजनिक वित्त सुधारको कार्यदिशा प्रस्तुत गर्नाका साथै आफूले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल नरहेका तर सरकारको निरन्तरको प्रयासबाट तिनमा सुधार हुँदै भएको मन्त्री महतले बताए ।

अर्थतन्त्रका अधिकांश परिसूचकहरु सुधारोन्मुख रहेका, एसियाली विकास बैङ्कले नेपालको आर्थिक वृद्धि चालु आर्थिक वर्षमा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण गरेकामा सरकारको प्रयास ६ प्रतिशत पु-याउने रहेको अर्थमन्त्रीले जानकारी दिए । गत कात्तिकमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ३८ प्रतिशत रहेको जानकार दिँदै उनले त्यसलाई वाञ्छित सीमाभित्र राख्ने प्रयास जारी रहेको बताए । चालु आर्थिक वर्ष २०८०/८१ को मङ्सिर मसान्तसम्ममा राजश्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ दशमलव दुई प्रतिशतले  बढेर रु तीन खर्ब ६३ अर्ब ४३ करोड, सोही अवधिमा चालु खर्च एक दशमलव छ प्रतिशत, पुँजीगत खर्च छ दशमलव एक र वित्तीय व्यवस्थातर्फको खर्च २१ दशमलव दुई प्रतिशतले बढेको बैठकमा अर्थमन्त्रीले जानकारी दिए ।

गत मङ्सिर मसान्तसम्ममा सरकारको खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव एक प्रतिशतले बढेर  रु चार खर्ब ५३ अर्ब पुगेको छ । चालु आर्थिक वर्षका लागि कूल रु १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट खर्च गर्ने सरकारको लक्ष्य रहेकामा मङ्सिर मसान्तसम्ममा रु २५ दशमलव ८७ प्रतिशत खर्च भएको छ । यही अवधिको पुँजीगत खर्च ११ दशमलव नौ प्रतिशत छ ।

अर्थमन्त्रीले बैठकमा दिएको जानकारीअनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिना अवधिमा कूल वस्तु आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन दशमलव चार प्रतिशतले  घटेर रु पाँच खर्ब ४२ अर्ब र वस्तु निर्यात छ दशमलव एक प्रतिशतले घटेर रु ६३ अर्ब २१ करोडको रहेको छ । सोही अवधिमा वस्तु व्यापार घाटा रु पाँच खर्ब ७९ अर्ब बराबर छ । अघिल्लो आर्थिक वर्ष कात्तिक महिनासम्ममा रु ३७ अर्ब ७९ करोडले घाटामा रहेको चालु खाता यस वर्षको सोही अवधिमा रु ९६ अर्ब ३८ करोडले बचतमा छ ।

पछिल्लो समय अर्थतन्त्रको बाह्य क्षेत्रका परिसूचकहरु अनुकूल बन्दै गएका, गत आर्थिक वर्षको पहिलो चार महिनामा शोधनान्तर स्थिति रु २० अर्ब तीन करोडले बचतमा रहेकामा चालु आर्वको सोही अवधिमा रु एक खर्ब ४७ अर्ब पुगेको, विप्रेषण २६ दशमलव चार प्रतिशतले बढेर चार खर्ब ७८ अर्ब पुगेको, विदेशी मुद्रा सञ्चिति गत असार मसान्तको तुलनामा कात्तिक मसान्तसम्ममा  रु एक खर्ब ५७ अर्ब ४२ करोड थप भई रु १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ । विदेशी विनिमयको यो सञ्चितिले १३ दशमलव छ महिनाको वस्तु पैठारी तथा ११ दशमलव तीन महिनाको वस्तु तथा सेवाको पैठारी धान्न पर्याप्त छ । यसैगरी, वैदेशिक लगानी प्राप्तिमा सुधार भएको, चालु आवको कात्तिकसम्ममा रु तीन अर्ब ६४ करोड बराबरको वैदेशिक लगानी भित्रिएको छ । 

यो वर्ष पर्यटक आगमनमा पनि उत्साहजनक वृद्धि भएको, सन् २०२३ को हालसम्म नौ लाख ५४ हजार पर्यटक नेपाल आएका र चालु आवको पहिलो चार महिनासम्ममा पर्यटन क्षेत्रबाट भ्रमण आय ४७ दशमलव दुई प्रतिशतले वृद्धि भई रु २५ अर्ब ७४ करोड पुगेको छ ।

Logo