‘प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम सच्चिनु पर्छ’

‘प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम सच्चिनु पर्छ’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राजनीतिक दलका नेता तथा कानुनविद्हरुले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम सच्चिनु पर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित प्रतिनिधिसभा विघटन संवैधानिक व्यवस्था र वर्तमान चुनौती विषयक अन्तर्क्रियामा बोल्दै नेता तथा कानुनविद्हरुले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम सच्चिनु पर्ने धारणा राखेका हुन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले संविधानमा गरिएको व्यवस्था र विगतमा गरिएका अभ्यासलाई ध्यान दिंदै सर्वोच्च अदालतबाट निर्णय हुनेमा विश्वास व्यक्त गरे । यस कदमले मुलुकमा अस्थिरता जन्माएको भन्दै उनले सडक संघर्षमार्फत नागरिक जुर्मुराउनु पर्ने अवस्था आएको बताए ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमलाई सच्याउनु पर्ने बताए । संविधानले नदिएको अधिकार प्रधानमन्त्रीले प्रयोग गर्न नपाउने उनको भनाई छ । बहुमत प्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार संविधानले नदिएको उनले स्पष्ट पारे ।

पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान मिच्ने प्रवृतिलाई अन्त्य गर्न पुनर्स्थापनाले मात्रै नपुग्ने धारणा राखे । संविधानको उल्लंघन गरेर जनतालाई धोका दिएको उनको भनाई छ ।

पूर्वप्रधानन्यायाधिश सुशिला कार्कीले मुलुकको संविधानलाई सर्वोपरी मानि अनुशासनमा बसेर काम गर्नुपर्ने बताइन् । प्रजातान्त्रको अभ्यास भनिएको भएपनि राज्य त्यसरी नचलेको उनको टिप्पणी छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कि नेतृ जयपुरी घर्तीले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको बताइन् । संविधानलाई नै खारेज गर्ने कदमको रुपमा विघटनको कदम अघि सारिएको उनको भनाई छ ।

प्रतिनिधिसभा विघटनको कदमका विरुद्ध सम्पूर्ण राजनीतिक दलहरु, नागरिक समुह, बुद्धिजिवी लगायत विभिन्न समूहहरु निरन्तर आन्दोलन तथा खबरदारी गरिरहेको छ ।

Logo