‘संविधान संशोधनको पक्षमा काँग्रेस’ : प्रवक्ता शर्मा

‘संविधान संशोधनको पक्षमा काँग्रेस’ : प्रवक्ता शर्मा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रमुख विपक्षी दल नेपाली काँग्रेसले सङ्घीय संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने भएको छ । कालापानी, लिम्पियाधुरा, लिपुलेक समेटिएको नेपालको नक्सा निशाना छापमा अद्यावधिक गर्न हुन लागेको संशोधनको पक्षमा मतदान गर्ने आज पत्रकार सम्मेलन गरेर पार्टीले स्पष्ट पारेको हो ।

पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भने, “नक्साको सन्दर्भमा कोही द्विविधा नभए हुन्छ, कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो, नेपालको अधिकार स्थापित हुनुपर्छ भन्ने जुन राजनीतिक दल (काँग्रेस) ले भन्दै आएको छ, त्यो दल नक्साको सन्दर्भमा प्रष्टरुपमा संसदमा पक्षमा उभिन्छ, संस्थागत निर्णय गर्ने काँग्रेसको अधिकारको विषयलाई सुरक्षित रहन दिनुहोस् । ”

सीमाको विषयमा राष्ट्रिय एकताका साथ सम्पादन गर्नु पर्ने दायित्व रहेको उल्लेख गर्दै उनले यसमा काँग्रेस प्रतिपक्षी दलका रुपमा जिम्मेवार र संयमित भएर कार्य गरिरहेको बताए । उनले विगतदेखि नै काँग्रेसले राख्दै आएको धारणा बमोजिम कालापानीबाट भारतीय सेना फिर्ता हुनु पर्ने बताए । नेपालको भूभागमा नेपालको हक कायम हुनुपर्छ भन्नेमा काँग्रेस प्रष्ट रहेको समेत उनले बताए ।

नेपालको आफ्नो भूमिमा अधिकार स्थापित गर्ने सन्दर्भमा सरकारले जारी गरेको नक्सालाई सबैको स्वामित्वबोध गर्दै साझा सहमति निर्माण गर्नेगरी अघि बढ्न काँग्रेसले सरकारलाई आग्रह गरेको छ । काँग्रेस उग्र अभिव्यक्तिभन्दा पहलकदमीमा तीव्रता गर्ने पार्टी हो भन्दै उनले नक्सा जारी भएकामा पार्टीले सकारात्मक दृष्टिकोण यस अघि नै सार्वजनिक गरिसकेको र यही १७ गते बस्ने केन्द्रीय कार्य समितिले संस्थागत निर्णय गर्नेसमेत उनले जानकारी दिए ।

सर्वदलीय बैठकमा सहभागी भएर संस्थागतरुपमा निर्णय गर्नेछ भनेर काँग्रेसले भनेको अर्थ हामीलाई समय दिइयोस् भनी समय माग गरेको होइन भन्दै उनले संसदमा शुरु भएको प्रक्रिया अवरुद्ध गर्नुपर्ने भन्ने माग विल्कुलै नभएको समेत उनले प्रष्ट पारे । उनले संसदमा कार्यसूचीबाट हटाइनुपर्छ भन्ने काँग्रेसको अभिव्यक्ति थियो भनेर ढङ्गले सरकारका केही मन्त्रीले भनेको विषयलाई काँग्रेसले गम्भीररुपमा लिएको उनले बताए । प्रवक्ता शर्माले यस अघि सभापति शेरबहादुर देउवाको वक्तव्यबाट समेत आएको सन्दर्भमा पार्टीको धारणालाई गलत व्याख्या नगर्न चेतावनी दिए ।

राष्ट्रियताको विषय आरोप प्रत्यारोप नभई एक ठाउँमा उभिएर राष्ट्रिय भावनालाई बलियो बनाउन सकिन्छ भन्दै उनले नक्सा लिएर मात्रै जिम्मेवार पूरा नहुने हुँदा जमिन पनि आफ्नो हातमा ल्याउनका लागि राष्ट्रिय एकताका साथ अघि बढ्नु पर्नेमा जोड दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसम्मतिका रुपमा पारित गरेर जाउँ भन्ने अभिव्यक्तिको काँग्रेसले सम्मान गरेको समेत उनले बताए ।

उनले सन् २०१५ मा भारत र चीनले सम्झौता गर्दै गर्दा तत्कालीन काँग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारले चीन र भारत दुवै देशलाई कूटनीतिक नोट पठाए यता नै यो विषयमा केन्द्रमा आएको र राष्ट्रिय एकताको वातावरण निर्माण शुरु भएको उनले जिकिर गरे । सन् २०१९ मा लिपुलेक, कालापानीलाई गाँसेर भारतले नक्सा सार्वजनिक गर्यो त्यो बेलामा पनि काँग्रेसले स्पष्ट धारणा राखेको उल्लेख गर्दै उनले यस विषयमा काँग्रेसले सरकारलाई साथ दिन्छ भनेर स्पष्ट गरेको जानकारी दिए।

कोरोना नियन्त्रणमा गम्भीर हुन आग्रह

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले कोभिड–१९ को सङ्क्रमणमा रोक्न गम्भीर भएर अघि बढ्न सरकारलाई आग्रह गरे । उनले सरकारको प्रयास कमजोर रहेको भन्दै परीक्षणको दायरा बढाउनसमेत अपिल गरे ।

“क्वारेन्टाइनमा मान्छे मर्दैछन्, अधिकांशको मृत्युपछि मात्रै रिपोर्ट किन आउँछ, सिमानामा राम्रो परीक्षण किन गरिएको छैन, विदेशमा अलपत्र परेको नागरिकको उद्धारमा सरकार किन गम्भीर छैन”, उनले प्रश्न गरे ।रासस

Logo