सिमिकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हुम्लाद्वारा सीमा अतिक्रमणको विरोधमा सदरमुकाम सिमिकोटमा शनिबार साँझ राँके जुलुस प्रदर्शन गरिएकोे छ । जिल्ला अध्यक्ष सुमन रावत र विद्यार्थी नेता जैबिर रावतको नेतृत्वमा भारतीय पक्षको हस्तक्षेपका विरुद्ध राँके जुलुस प्रर्दशन गरिएको हो ।
जुलुसमा विदेशी हस्तक्षेप विरुद्धमा नारावाजी गरिएको थियो । मातृभूमिको रक्षाको निमित्त देशभक्त नागरिक एकजुट हुनुपर्ने भन्दै सरकारले उच्च मनोबलका साथ सीमा विवाद मिलाउन भारतीय पक्षसँग कूटनीतिक पहल गर्नुपर्ने उनीहरुको माग छ ।
विदेशीको हेपाह प्रवृत्ति विरुद्ध सरकार खरो रुपमा उत्रन नसके राप्रपालाई सह्य नहुने उनीहरुले चेतावनी समेत दिएका छन् । त्यस्तै नेताहरुले कर्णाली क्षेत्रको आर्थिक विकासमा अत्यन्तै प्रतिकूल असर पार्ने गरी षड्यन्त्र भैरहेको भन्दै सशक्त ढंगबाट प्रतिकार गर्न सिंगो देश लाग्नुपर्नेमा समेत जोड दिएका छन् । जुलुुस प्रदर्शनमा युवा विद्यार्थीहरुको सहभागीता रहेको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका महासचिव जनक फडेराले जानकारी दिए ।
भारतीय पक्षले केही समय अगाडि नेपाली भूमि लिपुलेकबाट चीनको धार्मिक स्थल मानसरोवर जाने बाटो बनाएको थियो । जसको गत हप्ता भारतीय रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेसनबाट उद्घाटन गरेका थिए । भारतीय पक्षले नेपाली भूमिमा एकतर्फी बाटो निर्माण गरेसँगै नेपालमा विभिन्न राजनीतिक दल, तीनका भ्रातृ संगठनहरुले सडकदेखि सदनसम्म भारतीय पक्षको व्यापक विरोध गर्दै आएका छन् । यसअघि पनि राप्रपा मकवनापुरद्वारा राँके जुलुस प्रदर्शन गरिएको थियो ।





























प्रतिक्रिया