‘कुटनितीक तबरले त्रिदेशीय वार्ताबाट सीमा समस्या सल्टाउनु पर्छ’ : तोयानाथ बराल, सीमाविद् (भिडियोसहित)

‘कुटनितीक तबरले त्रिदेशीय वार्ताबाट सीमा समस्या सल्टाउनु पर्छ’ : तोयानाथ बराल, सीमाविद् (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

यतिबेला विश्व कोरोना महामारीको त्रासमा छ । नेपाल पनि यसबाट टाढा रहेन । यहि बेला नेपालमा एउटा विषयले अहिले निकै चर्चा पाएको छ । नेपाली भूमी लिपुलेकहुँदै मानसरोवर जाने सडक भारतले उद्घाटन गरेपछि यसले फेरि एकपटक नेपाल र भारतको सीमा समस्यालाई उजागर गरेको छ । हुन त नेपालको भारतसँग जोडिएका सीमा समस्या आजदेखिको होइन । खुला सीमाना भएका कारण भारतले पटक पटक, विभिन्न ठाउँमा सीमा मिच्दै आएको छ ।

यस विषयमा सीमाविद् एवं नापी विभागका पूर्वमहानिर्देशक तोयानाथ बरालले नेपाल भारतबीचको सीमा समस्यालाई कुटनितीक पहलबाट समाधान गर्नु पर्ने बताएका छन् । उनले हालै भारतले उद्घाटन गरेको लिपुलेकहुँदै कैलाश मानसरोवर जाने सडकले नेपाललाई धेरै समस्या ल्याउने बताए । यसबाट भारतले नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप गरेको यथार्थ झल्कने बताउँदै बरालले सुगौली सन्धीको दफा ५ ले नेपालको सीमाना कालीनदीलाई नै किटान गरेको प्रष्ट पारे । कालीनदी कुन हो भन्ने विषयमा भारत र नेपालको फरक फरक मत रहेपछि अहिलेको विवाद बल्झिएको बरालको मत छ ।

यतिबेला विश्व नै महामारीको चपेटामा परेको छ । यसबाट नेपाल र भारत दुवै देश आफैंमा पीडित भइरहेको अवस्थामा र पुरानो विवाद कायम रहेकै बेला भारतले हतारमा सडकको उद्घाटन गर्न नहुने तर्क राख्दै बरालले यसले निम्त्याएको समस्यालाई सधैं बाँकी राख्न नहुने सुझाव पनि दिएका छन् । यो सडक निर्माणसँगै नेपालको आर्थिक र पर्यटकिय क्षेत्रमा निकै घाटा हुने बरालले बताए । यसअघि नेपालको मार्गहुँदै वर्षेनी २५, ३० हजारको संख्यामा भारतिय तीर्थयात्रीहरु मानसरोवर जाने गरेकोमा अब यो सडक खुलेपछि ती पर्यटकहरु नेपाल नआउने भएकाले नेपाललाई घाटा हुनेछ ।

इतिहास हेर्ने हो भने सन् १९६०/६२ को समयमा भारत र तिब्बतबीच युद्धको समय थियो । त्यतिबेला त्रिदेशीय सम्झौता गर्दै नेपालले आफ्नो सीमा तोक्न नसकेकै कारण आज पनि यो समस्या उस्तै रहेको हो । अब नेपालसँग यतिबेला भएको सन्धी प्रमाणको रुपमा बाँकी रहेको छ । यस्तै अर्को ब्रिटिस सरकार र नेपालबीच भएको सुगौली सन्धीको प्रमाण हामीसँग बाँकी नै छ । यी दुई आधारमा टेकेर अब नेपालले आफ्नो भूमी बचाउन कुटनितीक तबरले अघि बढ्नु पर्ने सीमाविद् बरालले बताए ।

भारतले बेला बेलामा कालीनदी भन्दै कृतिम नदी देखाएर सीमामा प्रभाव जमाउँदै आएको बताउँदै बरालले यो समस्या तत्कालै अन्तर्राष्ट्रियकरण गर्न भने नहुने सुझाव दिए । हामीसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो हो भन्ने प्रशस्त आधार छन् तर यसलाई अन्तर्राष्ट्रियकरण गर्दा यसले नेपाल र भारतबीचका अन्य विषयहरु बिथोलिन सक्ने खतरा रहेकाले २ देशका सरकारहरुमै कुटनितीक तबरले यस समस्यालाई समाधान गर्नु पर्ने उनले बताए । पहिले भारतसँग वार्ता गरेपछि चीनसँग पनि वार्ता गर्दै समस्या रहेका ठाउँमा त्रिदेशीय सीमा बिन्दु निर्धारण गर्न सरकारले ढिला गर्न नहुने र सडकमा उफ्रिएर समस्या समाधान नहुने उनको सुझाव छ । केन्द्रबिन्दु टेलिभिजनले सीमाविद् बरालसँग गरिएको कुराकानी हेरौं यो भिडियोमा :

 

Logo