इपीजी प्रतिवेदन सार्वजनिक गर्न साझा पार्टीको माग

इपीजी प्रतिवेदन सार्वजनिक गर्न साझा पार्टीको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । इपीजी प्रतिवदेन सार्वजनिक गर्न साझा पार्टीले माग गरेको छ । सोमबार साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।

विज्ञप्तिमा इपिजीको प्रतिवेदन ग्रहण गरेर त्यसमा सुझाइएका सिफारिस कार्यान्वयन गरी सदियौंदेखिको नेपाल भारत बीचको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन दुबै देशका सरकारलाई आग्रह समेत गरिएको छ । विज्ञप्तिमा लेखिएको छ–‘यदि भारतले उक्त प्रतिवेदन बुझ्न अझै पनि ढिलाइ गर्ने हो भने सो प्रतिवेदन सक्दो छिटो नेपाल सरकारलाई बुझाइनुपर्छ र त्यसलाई सार्वजनिक गरिनुपर्छ भन्ने साझा पार्टी जोडदार माग गर्दछ ।’

त्यस्तैगरी साझा पार्टीले नेपाल भारत सम्बन्धमा पटक पटक आइपर्ने समस्याको दूरगामी समाधानका लागि इपिजीको सिफारिस सहायकसिद्ध हुन सक्ने उल्लेख गरेको छ । इपिजीले आफ्नो जिम्मेवारी पूरा गरेको लगभग दुई वर्ष पूरा भए पनि प्रतिवेदन कुनै पनि सरकारको स्वामित्वमा नरहेको विज्ञप्तिमा जनाइएको छ ।
पछिल्लो चरणमा नेपाली भूमि लिपुलेक हुँदै भारतले निर्माण गरेको सडक प्रकरण लगायत नेपाल–भारत सम्बन्धमा बारम्बार आइरहने विविध जटिलताहरूको परिप्रेक्ष्यमा इपीजीको प्रतिवेदनको महत्व अझ बढेको साझा पार्टीको धारण छ ।

विज्ञप्तिमा उल्लेख गरिएको छ–‘सहमति अनुरूप प्रतिवेदन सो समूहले पहिले भारतीय प्रधानमन्त्रीलाई बुझाउनुपर्ने थियो । तर भारतका प्रधानमन्त्रीले समय उपलब्ध नगराउँदा प्रतिवेदन हालसम्म नेपालका प्रधानमन्त्रीलाई पनि बुझाइएको छैन ।’

भारतले नेपाली भूमिको प्रयोग गरी चीनको मानसरोवर जाने बाटो निर्माण गरेको थियो । जसको शुक्रबार भारतीय रक्षा मन्त्री राजनाथ सिंहले उद्घाटन गरेका थिए । भारतीय पक्षले नेपाली भूमिमा बाटो बनाएपछि नेपालमा सडकदेखि सदनसम्म बहस र विवाद शुरु भएको छ । नेपालका राजनीतिक दल, राजनीतिक दलका भ्रातृ संगठन र स्वतन्त्र नागरिकले भारत विरुद्ध आवाज उठाउन थालेका छन् ।

Logo