काठमाडौं ।
सङ्घीय संसद्को छैठौं अधिवेशन शुरु भएको छ । केहिबेर अघि सङ्घीय संसद्को बैठक संसद भवन नयाँ बानेश्वरमा शुरु भएको हो । कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथामका लागि अपनाउनु पर्ने सबै स्वास्थ्य परीक्षण र उपाय अवलम्बन गरेर अधिवेशन प्रारम्भ गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
सङ्घीय संसदमा बजेट प्रस्तुत गर्नु अघि नेपाल सरकारको आगामी आवको नीति तथा कार्यक्रम र आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने कानूनी बाध्यता छ ।
सदनमा भाग लिन आउने मन्त्रिपरिषद्का सदस्य, सांसद, कर्मचारी र सुरक्षाकर्मी लगायतलाई बैठक कक्षमा प्रवेश गर्नु अघि नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको मूलद्वारमा साबुन पानीले मिचीमिची हात धुने र सेनिटाइजरबाट निसङ्क्रमण हुने व्यवस्था मिलाइएको छ । जुत्ताबाट हुन सक्ने जोखिमलाई ध्यान दिदैँ मूलद्वार अघि सेनिटाइजरको व्यवस्था गरिएको छ ।
अधिवेशन प्रारम्भ भएको पहिलो दिन भएकाले फोटो पत्रकारले राजनीतिक दलका नेता र सांसदका विभिन्न गतिविधिको तस्वीर लिन तछाड मछाड गरिरहेको देखिन्थ्यो । मूलद्वारमा सांसदको स्वास्थ्य परीक्षण गर्ने सन्दर्भमा ज्वरो नाप्ने व्यवस्था गरिएको थियो ।
प्रतिनिधिसभाको बैठक निर्धारित समय ठीक ४ बजे शुरु भएको थियो भने राष्ट्रियसभाको बैठक भने केही ढिलो (४ः१० बजे) मात्रै प्रारम्भ भएको थियो ।
सङ्घीय संसद्को छैठौं अघिवेशन प्रारम्भ भएसँगै सभामुख र अध्यक्षले राष्ट्रपति कार्यालयबाट संसद् आह्वान सम्बन्धी पत्र वाचन गरेका थिए भने त्यसको लगत्तै लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि बलिदान दिने शहीदको सम्मानमा मौनधारणा गरिएको थियो । सभामा संसद्का लागि दूरी कायम हुने गरी कुर्सीको व्यवस्था गरिएको छ ।
बजेट अधिवेशनका रुपमा समेत लिइने यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजश्व तथा व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।































प्रतिक्रिया