ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छ : अध्यक्ष दाहाल

ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छ : अध्यक्ष दाहाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढुक्कसँग संसद् बैठक बस्न सक्ने वातावरण बनेको प्रतिक्रिया दिएका छन् ।

संसद्को वर्षे अधिवेशनको पूर्वसन्ध्यामा विहिबार बानेश्वरस्थित संसद् भवनको निरीक्षण तथा कोभिड–१९ परीक्षणका लागि स्वाब नमूना दिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले बैठक हललाई निर्मलीकरण गर्ने प्रक्रिया सम्पन्न भएको जानकारी पाएको बताए ।

निकै राम्रो ढङ्गबाट बैठक सञ्चालन गर्ने तयारी भइरहेको आफूले पाएको अध्यक्ष दाहालको भनाइ थियो । “बैठक सञ्चालनबारे संसद् सचिवालयको तयारी सम्बन्धी ब्रिफिङ पनि सुनेँ”, दाहालले भने, “पहिला एक सिट छाडेर बस्ने भन्ने थियो, अहिले दुई सिट छाडेर बस्ने भन्ने भएको छ ।” उनले प्रधानमन्त्रीका लागि दुई वटा लाइन नै छाडेर बस्ने तयारी गरिएको जानकारी दिए। बैठक कक्षको बालकोनीमा पनि बस्ने ढङ्गबाट अगाडि बढेको छ ।

एक/दुई दिनमै बैठक बोलाउँछौं

फरक प्रसङ्गमा अध्यक्ष दाहालले गृहकार्य नपुगेका कारण स्थायी कमिटी बैठक बस्न नसकेको बताए । प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेर एक/दुई दिनभित्रै बैठक बोलाउने उनले जानकारी दिए । यसैबीच, स्थायी कमिटीको बैठक लगायतका विषयमा नेकपाका केही स्थायी कमिटी सदस्यले विहिबार पार्टी कार्यालय धुम्बाराहीमा अनौपचारिक छलफल गरेको बुझिएको छ ।रासस

Logo