किन स्थायी कमिटी बैठक राख्न चाहेनन् ओलीले ?

किन स्थायी कमिटी बैठक राख्न चाहेनन् ओलीले ?

केन्द्रबिन्दु
0
Shares

  • सराेज बस्याल 

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको स्थायी कमिटी बैठकबाट भाग्न थालेका छन् । सचिवालयमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई साथमा लिएर बहुमत पुर्याएका ओली स्थायी कमिटीमा अल्पमतमा पर्ने निश्चित भएसँगै विभिन्न बाहानाबाजी गर्दै भाग्न थालेका हुन् । जसको पछिल्लो उदाहरणका रुपमा बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकलाई लिन सकिन्छ । चल्दा चल्दैको बैठकलाई ओलीले बिचमा नै छाडेर निस्किएका थिए ।

स्रोतका अनुसार अध्यक्ष ओलीले आफ्ना कुरा बैठकमा प्रस्तुत गरी सकेपछि ‘म थाके आराम गर्छु, सके भने आउँछु आइन भने छलफल गर्दै गर्नु’ भन्दै निस्किएका थिए । तर लामो समयसम्म पर्खिंदा पनि उनी नआएपछि बुधबारको सचिवालय बैठक विना निस्कर्ष टुंगिएको थियो ।

गत शनिबारको सचिवालय बैठकमा पार्टीलाई विधि र पद्धतिबाट अघि बढाउने, पार्टी एकीकरणका लागि सबैले आत्मालोचना गर्ने, स्थायी कमिटीको बैठक बैशाख २५ गते बोलाउने, पार्टी प्रचण्ड र सरकार ओलीले चलाउने, सरकार चलाउँदा पार्टीको नीति र निर्देशन अनुसार चलाउने, संवैधानिक ठाउँमा नियुक्ति गर्दा सहमतिमा गर्ने र एक व्यक्ति एक मुख्य जिम्मेवारी कायम गर्ने पुरानो समझदारीलाई ब्युँताउने सहमति गरिएको थियो ।

तर, बुधबारको बैठकमा सोही सहमतिलाई ठोस रुपमा प्रस्तुत गर्नुपर्ने, र स्थायी कमिटीको बैठकका लागि आवश्यक प्रस्ताव तोक्नुपर्ने माग उठेपछि ओली विच्किएका थिए । साथै, उनले अहिले कुनै एजेन्डा पनि नभएकाले स्थायी कमिटी बैठक बोलाइरहन आवश्यक नभएको बताएका थिए । बुधबार साँझ बैठक सुरु हुने बित्तिकै प्रधानमन्त्री ओलीले बिनाकारण पार्टी एकता नगरिएको भन्दै एकता कायम राख्न सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताएका थिए । अहिले पूरै देश कोरोनासँग लडिरहेको र सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले  स्थायी कमिटीको बैठक केही पछि बस्दा पनि कुनै हानी नहुने उनको भनाइ थियो । तर स्रोतका अनुसार बुधबार बिहान दुई अध्यक्षबीच भएको कुराकानीमा स्थायी कमिटी बैठकको एजेन्डा साँझ बस्ने सचिवालय बैठकले तय गर्ने सहमति गरिएको थियो ।

पूर्व निर्धारित सहमति अनुसार बिहिबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठक बस्ने सूचना समेत जारी गरी सकिएको थियो । तर ओलीको निहुरिन नजान्ने प्रवृतिले बैठक स्थगित भएको दाहाल निकट एक स्थायी कमिटी सदस्यको आरोप छ ।
नेकपामा सिमित गुटमात्र चलाउन सिपालु मानिने ओलीलाई उनका विपक्षीहरुले निहुरिन नजान्ने बरु भाँचिन तयार हुने नेताको रुपमा चित्रित गर्छन । बुधबारको सचिवालय बैठकमा पनि अध्यक्ष ओली निहुरिन नसकेर भाँचिएको नेपाल निकट एक नेताले बताए । ति नेताले भने–‘अध्यक्ष ओली निहुरिएको भए शनिबारको सहमति अनुसार बिहिबार स्थायी कमिटीको बैठक बस्थ्यो। तर स्थायी कमिटीमा आफू अप्ठ्यारोमा पर्ने निश्चित भएपछि निहुरिन भन्दा बैठक स्थगित गरेर उनी भाँचिए ।’

Logo