महाधिवेशनसम्म आफू नेकपाको पहिलो अध्यक्ष र दाहाल द्वितीय अध्यक्ष रहेको ओलीकाे दाबी

महाधिवेशनसम्म आफू नेकपाको पहिलो अध्यक्ष र दाहाल द्वितीय अध्यक्ष रहेको ओलीकाे दाबी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नै पार्टीको प्रमुख पदाधिकारी भएको पत्र बुधबार निर्वाचन आयोगलाई पठाएका छन् । ‘त्यसैले पार्टीको प्रथम अध्यक्ष वा प्रमुख पदाधिकारीको हैसियतले मैले पठाएको विवरणबाहेक अरूले पार्टीका तर्फबाट विवरण पठाउने अधिकार छैन र त्यस्तो अनधिकृत विवरण आयोगले अद्यावधिक गर्न मिल्दैन’, प्रधानमन्त्री ओलीले पत्रमा भनेका छन्, ‘निर्वाचन आयोगमा परिपत्र गर्ने सन्दर्भमा पार्टीको तर्फबाट द्वितीय अध्यक्ष श्री पुष्पकमल दाहाल प्रचण्डलाई कुनै अधिकार छैन।’

ओलीले दाहाललाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम अभिलेखीकरण गर्न आयोगमा पत्राचार गर्ने कुनै हकदैया नरहेको जनाएका छन् । ‘यसमा पनि २०७७ पौष १० गते दाबी प्रकृतिको निवेदन दिई आफैंले मिति २०७७ पौष २१ गते दाबी नभएको भन्दै अर्को निवेदन दर्ता गरिसकेपछि ती वहाँले आयोगमा पठाएका भनिएका कुनै पनि पत्रहरू औचित्य नै रहेन’, पत्रमा लेखिएको छ, ‘तसर्थ त्यस्तो औचित्यविहीन पत्राचारको सम्बन्धमा मलाई थप जानकारी माग्नुपर्ने कुनै कारण र आधार नभएको हुँदा ती पत्र तथा जानकारी आयोगले अभिलेखीकरण गर्न नमिल्ने व्यहोरा अनुरोध छ।’

ओलीले नेकपा विभाजन नभएको जिकिर गरेका छन्। उनले पार्टी विधान र आगामी वर्ष तोकिएको महाधिवेशनसम्म आफू नेकपाको पहिलो अध्यक्ष र दाहाल द्वितीय अध्यक्ष रहेको दाबी गरेका छन्। ‘श्री पुष्पकमल दाहालसमेतले आयोगमा पत्र पठाई पार्टी विभाजनको हिसाबले पत्राचार गरेझैं नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छैन। र होइन’, ओलीले भनेका छन्, ‘मेरो नेतृत्वमा आगामी २०७८ साल मंसिर २ देखि ६ गतेसम्म एकता महाधिवेशन गर्ने गरी सो महाधिवेशन नभएसम्मका लागि पार्टीको प्रमुख पदाधिकारी तथा प्रथम अध्यक्षको नाताले पार्टी एकता गर्दाको मर्म भावनाअनुरूप र पार्टीको विधानको धारा १८ (झ) (२) र (५) बमोजिम गठन भएको केन्द्रीय कमिटीमा श्री पुष्पकमल दाहाल प्रचण्ड साविकझैं दुई नम्बर अध्यक्ष हुनुहुन्छ।’

प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणासँगै नेकपामा चिरा परेको छ। पार्टी कानुनी रूपमा विभाजित नभए पनि दुई समूहले आफू आधिकारिक भएको दाबी पेस गर्दै आयोगमा पत्राचार गर्दै आएका छन्। त्यसपछि आयोगले दुवै पक्षलाई ऐन–नियम र पार्टीको विधान अनुसार विवरण पठाउन पत्राचार गरेको थियो। त्यसको जवाफमा ओलीले आफैं आधिकारिक भएको र पार्टी विभाजन पनि नभएको लेखेका हुन्।

दाहाल–नेपाल समूहले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्दै रिक्त पदमा माधवकुमार नेपाललाई अध्यक्षमा चयन गरेको थियो। ओलीले भने पार्टीमा कसैलाई पनि कारबाही नगरिएको र पुरानै संरचना कायम रहेको जनाएका हुन्। ओलीको जवाफमा नेपाल नेकपाका वरिष्ठ नेता रहेको उल्लेख छ।अन्नपूर्णबाट

Logo