‘म कुनै पनि किसिमले पार्टी फुटाउने काममा लागेको छैन’ : सांसद राई

‘म कुनै पनि किसिमले पार्टी फुटाउने काममा लागेको छैन’ : सांसद राई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
समाजवादी पार्टीका नेता एवं सांसद मोहम्मद इस्तियाक राईले आफू कुनैपनि किसिमले पार्टी फुटाउने गतिविधिमा नलागेको बताएका छन् ।

नेता राईले पछिल्लो समय आफूहरुले पार्टी फुटाउन लागेको भन्ने कुरा हल्ला मात्रै भएको बताएका छन् । पूर्व मन्त्री समेत रहेका नेता राईले आफ्नो पार्टीभित्र केही विषयमा विवाद रहेको तर पार्टी नै फुटाउने खेलमा नलागेको प्रस्ट पारे । उनले भने ‘मैले चार दिन अगावै भनेको थिएँ पार्टीमा मत भिन्नता छ । विवादहरु छन् तर हामी भन्दा बढी विवाद नेकपा, कांग्रेस र राजपामा छ र यो विवाद भनेको विभाजन होइन भन्ने मैले प्रस्टै पारेको थिएँ, त्यो कुरा अहिले पनि छ ।’

उनले सञ्चार माध्यममा यो विषय कसरी आएको छ आफूले थाहा पाउन नसकेको समेत बताए । उनले पछिल्लो घटनाक्रमले पार्टीलाई राम्रै गरेको बताए । उनले संघर्ष गरिरहेका शक्तिहरु एकठाउँमा आउनु खुशिको कुरा भएको समेत बताए । उनले भने ‘एउटा उत्पीडित वर्ग, समुदायले र आम नेपालीले देखेको जुन सपना थियो , जुन संघर्ष गर्ने शक्तिहरु थिए, एकठाउँमा यो घटनाले ल्याईदिएको छ । एउटा खुशिको खबर हो । यसबाट जनतामा र मेरो मतदातामा र हाम्रो पार्टीका शुभचिन्तक र शुभेच्छुकहरुमा झनै उत्साह र उर्जा थपिएको छ । यसले थप मद्दत पु¥याउने छ र सम्पूर्ण उत्पीडित शक्तिहरुलाई एकजुट भएर सघाउन पनि अपिल गर्न चाहन्छु ।’

उनले पार्टीभित्र फरक मत रहने वित्तीकै पार्टी विभाजन नै हो भन्ने बुझाई राख्न नहुने बताए । ठूला पार्टीमा झन ठूलो विवाद रहेको त्यसमा मिडियाको ध्यान नजाने तर सानो पार्टीमा चासो बढेको र यसले आफूमाथि लागेको आरोप दुर्भाग्यपूर्ण भएको बताए । सरकारले ल्याएको अध्यादेशका विषयमा के भन्नुहुन्छ भन्ने प्रश्नमा नेता राईले पार्टीले सार्वजनिक गरेको धारणा नै आफ्नो पनि धारणा भएको बताए ।

Logo