काठमाडौं ।
विपक्षी दलहरुले सरकारले ल्याएका संवैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी अध्यादेश, ०७७ तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन् । अध्यादेश फिर्ता नभए लकडाउन पछि सरकारका निरंकुश र जनविरोधी कदमका विरुद्ध आवश्यक कदम उठाउन बाध्य हुने उनीहरुले बताएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित संसदमा प्रतिनिधित्व गर्ने दलहरुको आज बसेको बैठकले सो माग गरेका हुन् । बैठकले जारी अध्यादेशले संविधानको मूल मर्म र लोकतान्त्रिक मूल्य र मान्यताको उल्लंघन गरेको भन्दै निन्दासमेत गरेको छ ।
बैठकपछि जारी संयुक्त वक्तव्यमा वर्तमान सरकार लोकतान्त्रिक मूल्य र मान्यतालाई समाप्त पारी निरंकुशतातर्फ उन्मुख भएको उल्लेख गरिएको छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यी दुवै अध्यादेश तत्काल फिर्ता लिन यो बैठक जोडदार माग गर्दछ ।’
त्यस्तै बैठकले सामाजिक दुरी कायम गर्ने व्यवस्था मिलाई तत्काल संघीय संसदको बैठक बोलाउन पनि सरकारसँग माग गरेको छ ।बैठकमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुको उपस्थिती रहेको थियो ।































प्रतिक्रिया