काठामाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई बेमौसमी बाजा नबजाउन आग्रह गरेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पार्टी फुटाउन आवश्यक अध्यादेश जारी गर्ने निर्णय गरेसँगै प्रवक्ता शर्माले त्यस्तो आग्रह गरेका हुन् ।
वर्तमान कानुन अनुसार पार्टी फुटाउन संसदीय दल र केन्द्रीय समिति दुबैमा ४० प्रतिशत संख्या आवश्यक पर्दछ । तर, आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको प्रस्ताव राष्ट्रपतिले प्रमाणित गरे पार्टी फुटाउन संसदीय दल वा केन्द्रीय समितिमध्ये कुनै एकमा ४० प्रतिशत मात्र उपस्थिति भए बाटो खुल्ने छ ।
प्रवक्ता शर्माले विश्व नोवेल कोरोना भाइरसको संक्रमणसँग जुधि रहेको समयमा अध्यादेश ल्याउने सरकारको निर्णय बेमौसमी बाजा भएको भन्दै आलोचना गरेका छन् । मन्त्रिपरिषद्को निर्णय बाहिरिएपछि कांग्रेस प्रवक्ता शर्माले ट्वीट गर्दै उल्लेख गरेका छन्–‘बेमौसमी बाजा नबजाऔँ । संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने हो । नेपालका लागि पनि यतिबेला अन्य सबै विषय गौण छन्, गौण रहनुपर्छ । हाम्रो सम्पुर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित रहनैपर्छ । ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पछिल्लो समय विकसित हुँदै गएको दुई पार्टी अध्यक्षको टकराबका कारण सरकारले यस्तो अध्यादेश ल्याएको जानकारहरु बताउँछन् ।





























प्रतिक्रिया