काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राहत वितरणका क्रममा अनियमितता भएको ठहर गरेको छ ।
शनिबार बसेको पार्टीको पदाधिकारी बैठकले राहत वितरणमा अनियमितता भएको ठहर गर्दै सर्वदलिय संयन्त्र बनाएर अनुगमन गर्न आग्रह गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व रहेका स्थानीय तहहरुमा राहत वितरण पक्षपातपूर्ण भएको कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले बताए । विभिन्न स्थानीय तहबाट राहत वितरण पक्षपातपूर्ण भएको गुनासो आएकाले सर्वदलिय संयन्त्र बनाएर अनुगमनको व्यवस्था गर्न उनले माग गरे । केन्द्र र प्रदेश सरकारले घोषणा गरेको राहत लक्षित समूहसम्म नपुगेकाले द्रुतगतिमा राहत पुर्याउन पनि कांग्रेसले सरकारलाई अपिल गरेको उनले बताए ।
सरकारले राहत स्वरुप बैंकको व्याज मिनाहा गर्न सकिनेहरुको मिनाहा गर्न र न्यून गर्न सकिनेहरुको हकमा कम गर्ने गरी अगाडी बढ्न कांग्रेसले सरकारलाई आग्रह गरेको छ । बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले अप्ठ्यारोमा परेका नागरिकहरुका लागि सुरक्षित ढंगले जाने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । साथै बाटोमा रहेका नागरिकलाई भोको पर्न नदिन आफ्ना कार्यकर्ताहरुलाई अपिल गरेको छ । यसैगरी विदेशमा रहेका श्रमिक र विद्यार्थीहरुलाई पर्याप्त राहत नपुगेको विवरण सरकार समक्ष पेशगरी ध्यानाकर्षण गराउने र कुटनीतिक पहलका लागि आग्रह गर्ने निर्णय पनि कांग्रेस पदाधिकारी बैठकले गरेको छ ।
लामो समयदेखि धार्चुला लगायत अन्य सीमानाकामा रहेका नागरिकलाई प्रवेश नदिएको घटनालाई गम्भिर रुपमा लिइएको बताउँदै कांग्रेसले उच्च मानविय भावनाका साथ देश प्रवेश गर्ने वातावरण मिलाएर क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न पनि सरकारलाई आग्रह गरेको छ । घुम्ती परीक्षण सुरु गरी कोरोना भाइरसको परीक्षणको दायरा बढाउन पनि कांग्रेसले आग्रह गरेको छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको बीचमा आवश्यक समन्वय गरी कोरोना बाहेक अन्य रोगका विरामीको अवस्थालाई ध्यान दिन पनि कांग्रेसले आग्रह गरेको छ । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततामा अझै कारवाही प्रकृया अगाडी नबढाएको विषयमा पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।





























प्रतिक्रिया