ओली पक्षको नेकपा केन्द्रीय कमिटी १५ सय १ सदस्यीय

ओली पक्षको नेकपा केन्द्रीय कमिटी १५ सय १ सदस्यीय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान संशोधन गरेर केन्द्रीय कमिटी १५ सय १ सदस्यीय बनाएका छन् । यसअघि गत पुस ७ गते बालुवाटारमा बसेको ओलीपक्षीय नेकपाको केन्द्रीय कमिटी बैठकले १ हजार १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो ।

त्यतिखेरै ओलीले ५ सय ९६ जनालाई मनोनयन गरेर १ सय ९६ सिट रिक्त राखेका थिए । तर पुस २२ गते ओलीको एकल हस्ताक्षरमा सर्कुलर गरिएको अन्तरपार्टी निर्देशनमा १५ सय १ सदस्यीय केन्द्रीय कमिटी हुने उल्लेख छ ।

‘केन्द्रीय कमिटीको तेस्रो बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अन्तरिम विधान २०७५ मा दोस्रो र तेस्रो संशोधन गरेको छ । यी संशोधनसँगै अब पार्टी केन्द्रीय कमिटीको सदस्य संख्या १५ सय १ सदस्यीय भएको छ,’ ओलीले अन्तरपार्टी निर्देशनमा लेखेका छन्, ‘रिक्त पदाधिकारीमा मनोनयन गर्ने अधिकार अध्यक्ष कमरेडलाई दिँदै उक्त मनोनयन केन्द्रीय कमिटीले अनुमोदन गरे पश्चात् कार्यान्वयनमा जाने प्रबन्ध गरिएको छ ।’

अन्तरपार्टी निर्देशनमा अर्का अध्यक्ष दाहालले एकीकरणको बाँकी काम पूरा गर्न नसकेकाले दिइएको कार्यकारी अधिकार फिर्ता लिइएको उल्लेख छ । अन्तरपार्टी निर्देशनमा लेखिए अनुसार ओलीपक्षीय नेकपाले पार्टी कमिटीमा ५० प्रतिशतसम्म थप्न मिल्ने गरी विधान संशोधन गरेको छ ।कान्तिपुरबाट

Logo