पृथ्वीनारायण राष्ट्रिय एकताका प्रर्वतक : सन्दर्भ आज २९९ औं पृथ्वीजयन्ती

पृथ्वीनारायण राष्ट्रिय एकताका प्रर्वतक : सन्दर्भ आज २९९ औं पृथ्वीजयन्ती

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले सिंहदरबारको पश्चिमढोका अगाडि रहेको शाहको शालिकमा माल्यार्पणका साथै अन्य कार्यक्रम गर्नेछन् ।

विसं १७७९ मा गोरखामा जन्मिएका पृथ्वीनारायणले बाइसे र चौविसे राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए ।पृथ्वी नारारायणले जीवनमा तीनवटा युद्धमा मात्र हार भोग्नुपरेको पृथ्वीनारायण शाहको योगदानका विषयमा अनुसन्धानरत हरिप्रसाद सोडारीले बताए।

विसं. १८०० मा नुवाकोटमा पहिलोपटक आक्रमण गर्दा उनी पराजित भए । १८०१ मा नुवाकोटमा विजयी भए । यसैगरी कीर्तिपुरमा पनि उनी दुई पटक पराजित भएका थिए । विश्वमा विजयी भई उपनिवेश चलाउन सफल अङ्ग्रेज सेना उनको नेतृत्वमा पराजित भएका थिए । अङ्ग्रेजले समेत हराउन नसकेको मुगल सेनालाई पृथ्वीनारायणले १८१९ मा मकवानपुरमा पराजित गरेका थिए । यसैले अङ्ग्रेज पनि उनीसँग डराएका थिए ।

शाहले ‘व्रतरत्नमाला’ नामक कृति लेखेका थिए । यसैगरी उनका तीन कविता पनि प्रकाशित भएको सोडारीले बताए । ‘दिव्योपदेश’ भने पृथ्वीनारायण शाहका भनाइ हुन् । जसलाई पछि कृतिका रुपमा प्रकाशित गरिएको हो ।

बाइसेचौबीसे राज्यमा छरिएको भूगोललाई युद्ध तथा कूटनीतिक कौशलताबाट क्रमिक रुपमा एकताबद्ध गरेका शाहको गौरव र इतिहास परिवर्तन गर्न नहुने र योगदानलाई राजनीतिक आस्थासँग जोड्न नहुने बुद्धिजिवीले सुझाएका छन् । सरकारले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्ने बुद्धिजिवीले बताए ।

प्राज्ञ दिनेशराज पन्तले प्राचीनकालमा विशाल रहेको नेपाल विभिन्न कारणले लिच्छविकालको अन्त्यतिर ५२ राज्यमा विभाजन भएको उल्लेख गर्दै शाहले नेपाललाई पुनःएकीकरण गरी पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको नेपालीले भोग गर्न पाउने व्यवस्था गरिदिएकाले प्रत्येक नेपालीले उनलाई सम्मान गर्नुपर्नेमा जोड दिए ।

तत्कालीन समयमा काठमाडौँ उपत्यका, सिम्रौनगढ र सिँजा केन्द्र भएको राज्य शक्तिशाली थिए । तिनै तीन केन्द्र अन्तर्गत बाइसे र चौबीसे राज्य अस्तित्वमा थिए । गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका छोराका रुपमा विसं १७७९ पुस २७ गते जन्मेका शाहले विसं १७९९ चैतमा राजा भएपछि नुवाकोट १८०१ र काठमाडौं उपत्यका विसं १८२५–२६ र पछि पूर्वका सेन राज्य विजय गरेका थिए ।

आफ्ना पालामा छरिएका ५४ राज्यमध्ये धेरै राज्य एकीकरण गरेपछि शाहलाई वंशका हिसाबले राजा तथा कुशल नेतृत्व गर्न सक्ने सेनापतिका रुपमा पनि चित्रण गरेको पाइन्छ ।

शाहको फौजले एकीकरणका क्रममा दोस्रो आक्रमणमा विसं १८०१ असोज १५ गते नुवाकोट जितेको थियो । उक्त स्थानबाट शुरु गरिएको एकीकरण बढ्दै गएर काठमाडौँ उपत्यका र पछि पूर्वतिर विजय गरे पनि उनको कार्यकालमा नभई भाइ र छोराहरुले पश्चिमतिर सीमाना बढाए ।

शाहका कान्छा छोरा बहादुर शाहले पनि राज्य बढाएको भए पनि विभिन्न कारणले त्यसलाई कायम गर्न सकिएन । नेपाल राज्यको सीमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भयो । नेपाल अङ्ग्रेज युद्धपछि सुगौली सन्धि (विसं १८७२) सम्म वर्तमान भूभाग (राणाका पालामा नयाँ मुलुक बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता) नेपाल अधीनस्थ भयो ।

प्राज्ञ जगमान गुरुङले शाह नेपालको अस्तित्वलाई जोगाउने युगपुरुष भएको बताउँदै टुक्राटुक्रामा विभाजित नेपाललाई शाहले गरेको एकीकणका कारण अहिले नेपालीले सङ्घीय गणतान्त्रिक नेपालको सत्ता उपभोग गर्न पाएको विचार व्यक्त गरे।

आधुनिक नेपालको निर्माण गरिसकेपछि शाहबाट अगाडिका राजाहरुले सञ्चालन गरेका पर्व तथा परम्परालाई निरन्तरता दिने कार्यले विभिन्न जाति र समुदायबीच सांस्कृतिक एकता कायम गर्न सहयोग पुगेको छ । नेपाली हुँ भनेर गर्व गर्ने प्रत्येक नेपालीले मुलुकमा राष्ट्रिय अखण्डता, स्वतन्त्रता र एकतालाई अक्षुण राख्नका लागि भूमिका निर्वाह गर्नुपर्ने देखिएको छ ।

शाहको एकीकरणका क्रममा भारतमा जस्तै नेपालमा पनि बेलायती साम्राज्यको प्रभाव पार्न खोजिए पनि नेपालीले मुसलमान र अङ्ग्रेज शासकबाट स्वतन्त्रता जोगाए ।

वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् मोदनाथ प्रश्रितले विभिन्न भूगोलमा छरिएका खण्ड खण्ड राज्यलाई एकीकरण तथा त्यहाँका जनतालाई एकीकृत गरेर दुई ठूला देशबीच नेपाललाई स्वतन्त्र राष्ट्रका रुपमा स्थापित गर्ने महान् नेताका रुपमा शाहलाई सम्मान गर्नुपर्नेमा जोड दिए। नेपालका विभिन्न जाति, धर्म र क्षेत्रको द्वन्द्वलाई मिलाउने महान् व्यक्ति शाहले साना राज्य–रजौटामा विभाजित देशलाई एकीकरण नगरेको भए आज हामी नेपाली नहुने उनको भनाइ थियो ।

इतिहासकार डा सुरेन्द्र केसीले नेपाल राष्ट्रका जनक शाहले विभिन्न राज्यमा विभाजित राज्यलाई विदेशी हस्तक्षेप हुनबाट जोगाउने कार्य गरेकाले नेपालीले सदैव उच्च सम्मान गर्नुपर्ने बताए । “भौगोलिक एकताले मात्र राष्ट्रिय एकता हुँदैन, राष्ट्रिय एकता हुनका लागि भावनात्मक एकताको खाँचो छ । भूगोलभित्र रहेको सम्पूर्ण जातजाति, धर्म, भाषाभाषी, साहित्य, लिपि, जीवन पद्धति आदिको समष्टिगत रुप नै राष्ट्र हो । सबै समुदायको समानुपातिक समावेशीसहितको समृद्ध र शान्तिपूर्ण नेपाल बनाउन सकिए मात्र राष्ट्रिय एकता हुनेछ” उनले भने ।

नेपालको भौगोलिक एकीकरण गरेर यो भूमिका लागि महत्वपूर्ण योगदान दिएका शाहको निधन विसं. १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो । पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकामा हाल कटौती गरिएकामा पुनः बिदा दिई देशभर मनाइनु पर्ने माग हुन थालेको छ ।

Logo