दोलखा।
गृहमन्त्री रामबहादुर थापाले विघटन भएको प्रतिनिधिसभा पुनःस्थापना हुने सम्भावना नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी दोलखाले चरिकोटमा शुक्रबार आयोजना गरेको कार्यकर्ता भेलामा गृहमन्त्री थापाले जनताले अस्थिरता नभई स्थायीत्व चाहेको र समाजवाद एवं समृद्धिको पक्षमा जनता रहेको हुँदा सबैले ताजा जनादेश चाहेको उल्लेख गरे ।
आम नागरिकले स्थायी सरकार चाहेको र नतिजामुखी काम गर्ने समयमा सरकार ढाल्नका लागि पार्टीभित्रैबाट चलखेल गर्ने, आरोपपत्र दर्ता गराउने, आफ्नै सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउने जस्ता गतिविधिले पार्टीमा फुटको स्थिति आएको बताउँदै गृहमन्त्री थापाले अब राष्ट्रियताको नारा लिएर ताजा जनादेशमा जाने बताए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले देशमा अस्थिरता खोज्ने तथा देशको विकास र सम्वृद्धि नचाहने तत्वले प्रधानमन्त्री विरुद्ध चालेको कदम गलत भएका कारण यो अवस्थाको सिर्जना भएको बताए । उनले पार्टी भित्रैबाट केही समयदेखि सरकारका राम्रा कामको प्रचारभन्दा पनि विरोध र सरकारमा सङ्कट उत्पन्न गराउने काम भएको आरोप लगाउदै त्यसैले ताजा जनादेशमा जान लागेको बताए ।
सरकार किन यो अवस्थासम्म पुग्यो भन्ने कुरा आम नागरिकलाई स्पष्ट भएको र कसरी सङ्कट उत्पन्न भयो भन्ने बारेमा गम्भीर भएर सोच्न आम कार्यकर्तालाई मन्त्री गुरुङले आग्रह गरे ।





























प्रतिक्रिया