वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपा सचिवालयको निर्णय

वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपा सचिवालयको निर्णय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको छ।

बुधबार बिहान प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले  राष्ट्रिय सभा सदस्य नियुक्त गर्ने व्यवस्था छ ।

गौतम गत प्रतिनिधि सभा निर्वाचनमा बर्दिया-१ मा कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग पराजित भएका थिए। उनले अन्तर्घातका कारण पराजय भोगेको बताउँदै आएका थिए।

यसअघि रिक्त अन्य पदको चुनावमा पनि गौतमलाई उम्मेदवार बनाउने प्रयास भएको थियो। तर, गौतमले अनिच्छा देखाएका कारण उनी उम्मेदवार बनेका थिएनन्। उनले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने माग गर्दै आएका थिए।

राष्ट्रपतिबाट राष्ट्रिय सभामा नियुक्त भएका अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल आगामी २० गते सकिँदैछ। नयाँ निर्वाचित र राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्यले फागुन २१ गते सपथ लिँदैछन्।

Logo