‘एमसीसीका विषयमा नेकपाको अध्ययन कार्यदलले सुझाव मात्रै पेश गर्छ’ : परराष्ट्रमन्त्री ज्ञवाली

‘एमसीसीका विषयमा नेकपाको अध्ययन कार्यदलले सुझाव मात्रै पेश गर्छ’ : परराष्ट्रमन्त्री ज्ञवाली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशनका (एमसीसी) का विषयमा अध्ययन कार्यदलले अध्ययन गरेर सुझाव मात्रै पेश गर्ने प्रष्ट पारेका छन् ।

बंगलादेशको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका परराष्ट्रमन्त्री ज्ञवालीले कार्यदलले एमसीसीका विषयमा अध्ययन गरेर सुझाव पेश गर्ने तर पारित गर्ने/नगर्ने विषयमा कुनै निर्णय नगर्ने बताएका हुन् । पार्टीको केन्द्रीय समिति बैठकमा केही टोलीका नेताहरुले यसको विषयमा प्रष्ट नबुझेकाले अध्ययन गरेर थप प्रष्ट पार्ने अधिकार दिएर कार्यदल गठन गरिएको र कार्यदलले अध्ययन मात्रै गर्ने उनले बताए ।

नेकपाको केन्द्रीय समिति बैठकले ज्ञवालीसहित झलनाथ खनाल, भीम रावल गरी तीन सदस्यीय कार्यदल गठन गरेको थियो । अहिले कार्यदलले अध्ययन गरिरहेको छ ।

बंगलादेश भ्रमणका क्रममा त्यहाँका विदेशमन्त्री डा. एके अब्दुल मोमेनसँग दुई देशको सम्बन्ध प्रगाढ बनाउने विषयमा छलफल भएको उनले बताए । दुई देशको हितमा हुनेगरी राजनीतिक सम्बन्ध सुदृढ गर्दै आर्थिक सम्बन्ध अझ गहिरो र फलदायी बनाउँदै जैलाने विषयमा कुराकानी भएको उनको भनाई थियो ।

त्यसैगरी जलविद्युत लगायत उर्जाका स्रोतहरुको विकास एवं व्यापार गर्ने विषयमा पनि सहमति भएको छ । बंगलादेशका वाणिज्यमन्त्री टिपु मन्सुलीसँग भएको भेटमा दुई देशको सम्पर्क सञ्जाललाई विस्तार गर्नका लागि दुबै देशका नजिक रहेका सहरहरुबीच सिधा हवाई उडानको व्यवस्था गर्ने, सडक मार्गको सुधार तथा स्तरोन्नती गर्ने, रेलमार्गको सञ्जाल विस्तार गरी दुई मुलुकलाई जोड्ने नेपालका नदीहरु भारत र बंगलादेशका नदीहरुमा जोड्ने र जलमार्गको विकास गर्ने समझादारी भएको छ ।

उनले चीनले कोरोना भाइरस विरुद्ध सफलता प्राप्त गर्दै गएको बताए । चीनले कोरोना नियन्त्रणका लागि गरिरहेको कामलाई नेपालले ऐक्यबद्धता जनाएको ज्ञवालीको भनाई थियो । उनले चीनमा देखिएको कोरोनाका कारण सगरमाथा सम्बादलाई कुनै असर नगर्ने समेत प्रष्ट पारे ।

मन्त्री ज्ञवालीले भारतसँगको सीमा विवाद समाधान गर्न वार्ताको वातावारण बनिरहेको र दुबै देशको समय अनुकुल मिति तय गरी वार्ता हुने बताए ।

Logo