दलहरूकाे चाैतर्फी घेराबन्दीमा प्रधानमन्त्री ओली, एक्लै चुनावी अभियानमा (भिडियाेसहित)

दलहरूकाे चाैतर्फी घेराबन्दीमा प्रधानमन्त्री ओली, एक्लै चुनावी अभियानमा (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अहिले सबै पार्टीहरु करिब आन्दोलनमा छन् । प्रधानमन्त्री ओली नेतृत्वको नेकपा मात्र चुनाव भन्दै आफ्नो अभियानमा केन्द्रित छ । अरु सबै राजनीतिक शक्ति आन्दोलनमा छन् । आन्दोलनमा उत्रिनेहरुको माग एउटै जस्तो देखिन्छ, प्रतिनिधिसभा पुनर्स्थापना । तर सबै दल एउटै मोर्चामा बसेर आन्दोलन भने गरेका छैनन् । शुरुमा, अहिले प्रतिनिधि सभाविरुद्ध क–कसका के–के कार्यक्रम छन् ? एक पटक नियालौं ।

नेकपा (दाहाल–नेपाल)

प्रतिनिधिसभा विघटनविरुद्ध अहिले सबैभन्दा एग्रेसिभ नेकपाको (दाहाल–नेपाल) समूह छ । यही कारण पार्टी पनि विभाजित भएकाले नेकपाको यो समूह ओली विरुद्ध निकै आक्रोशित छ । त्यसैले यसले हरेक दिनजसो विरोध प्रदर्शन गरिरहेको छ । केन्द्र, प्रदेश, जिल्लादेखि वडातहसम्म नेकपाका कार्यक्रम चलिहरेका छन् । यी कार्यक्रममा प्रधानमन्त्री केपी ओलीबारे बढ्ता आक्रोश व्यक्त गरेका छन् । उनीहरुले अहिले प्रदेश भेला, भातृ संगठनका भेला र प्रशिक्षण गरिरहेका छन् । यो समूहले काठमाडौंमा एउटा ठूलो आमसभा गरिसकेको छ । उनीहरुको माग प्रतिनिधिसभा पुनस्र्थापना भन्ने छ । प्रतिनिधि सभा पुनस्र्थापना नहुँदासम्म आन्दोलन जारी राख्ने उनीहरुको घोषणा छ ।

नेपाली काँग्रेस

पार्टी भित्रका धेरै विवादपछि नेपाली कांग्रेसले पनि छुट्टै विरोधका कार्यक्रम तय गरेको छ । कांग्रेसले एकपटक सबै निर्वाचन क्षेत्र स्तरमा विरोध प्रदर्शन गरिसकेको छ । कांग्रेसले आफ्नो कार्यालयमा एकपटक सर्वदलीय भेला गरेको थियो । उक्त भेलामा प्रतिनिधिसभा विघटनविरुद्ध एकमत बनाउने प्रयास गरेको थियो । त्यसपछि कांग्रेसभित्र प्रतिनिधिसभा विघटनको विषय अदालतमा विचाराधिन भएकाले तत्काल धेरै कार्यक्रम तय गर्न नहुँने पक्षमा देउवा थिए । पार्टीभित्रैबाट ठूलो आरोप आएपछि देउवाले पनि आन्दोलनमा जानेमा सहमति जनाए । अहिले कांग्रेसले प्रदेश निर्वाचन क्षेत्र केन्द्रित आन्दोलन तय गरेको छ ।

जनता समाजवादी पार्टी

जनता समाजवादी पार्टीले पनि प्रतिनिधिसभा विघटनको विरोधमा देशव्यापी विरोध प्रदर्शन गरिरहेको छ । संविधान जारी गर्ने बेलामा विरोध गरे पनि अहिले त्यही संविधानको रक्षाका लागि भन्दै यो पार्टी विरोधमा उत्रिएको छ । प्रदेश २ मा जसपाले ठूलो प्रदर्शन गरिसकेको छ । दुई दिन अघि काठमाडौंमा जसपाका नेताहरुले अन्य दलहरु समेतलाई संलग्न गराएर बृहत् अन्तर्क्रिया गरेका थिए । त्यसमा प्रधानमन्त्री ओलीले गरेका काम कारवाही तानाशाही शैलीका भएको धेरै नेताहरुका धारणा थिए । जसपाले पनि पुनर्स्थापनाको माग गर्दै आएको छ ।

देशभक्त गणतान्त्रिक मोर्चा

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) नेतृत्वको २२ वटा साना दल सहितको एउटा–देशभक्त गणतान्त्रिक मोर्चा छ । यो मोर्चा पनि विरोधमा छ । संसदमा प्रतिनिधित्व नभए पनि यो मोर्चा अहिले प्राप्त गणतन्त्रको रक्षाका लागि भन्दै सडक आन्दोलनमा उत्रिएको छ । यसले अहिलेको शासन व्यवस्था ठिक नभएको धारणा राख्दै आएको छ । तर पनि प्राप्त उपलब्धीहरुलाई धरापमा पार्ने काम ओलीले गरेकाले अहिले पुरानै विन्दुमा फर्किन आन्दोलन चाहिने भन्दै आएको छ । यो मोर्चा पनि ओलीको विरोध गर्ने मञ्चहरुमा उपस्थित भएर विरोध गर्दै आएको छ ।

राप्रपा

गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको विरोध गर्ने एउटा पार्टी राप्रपा हो । यो पार्टीले गणतान्त्रिक संविधानका मुख्य मान्यता नै ठिक नभएको भन्दै आएको छ । तर पनि ओली गरेको संसद विघटनलाई राप्रपाले पनि ठिक ठानेको छैन । उसले ओलीको यो कदमलाई व्यवस्थाकै असफलतासँग जोडेर हेरेको छ । यही मौकामा आफ्ना एजेण्डा स्थापीत गराउन सक्ने ठानेर राप्रपाले पनि सडक प्रदर्शन गरेको छ । यसअघि नै देशभर विरोध प्रदर्शन गर्दै हिड्ने राप्रपा प्रतिनिधिसभा विघटनपछि झन् व्यवस्थाविरोधी नारा लगाउँदै अझै संगठित रुपमा आउन थालेको छ । यो पार्टीले देखावटी रुपमा प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरेको छ । तर मुख्य ध्यान राजासहितको प्रजातन्त्रको एजेण्डा स्थापित गर्नेतर्फ छ ।

विवेकशिल साझा

रविन्द्र मिश्र र मिलन पाण्डे अध्यक्ष रहेको विवेकशिल साझा पार्टी पनि संविधान विपरितको काम भयो भन्दै छुट्टै विरोध प्रदर्शनमा छ । उसले पनि सडक प्रदर्शन गरिरहेको छ । अन्य दलहरुका मञ्चमा पुगेर यो पार्टीका अध्यक्ष मिश्रले पुराना दलहरुको काम गर्ने शैली नै गलत भएको भन्दै सच्चिनु पर्ने धारणा राख्दै आएका छन् ।

विप्लवको मोर्चा

अहिलेको शासन व्यवस्थालाई चुनौती दिदै हिंसात्मक आन्दोलन गरिरहेको विप्लव नेतृत्वको नेकपा पनि विरोधमा छ । प्रतिनिधिसभा विघटनपछि विप्लवसहित चारवटा पार्टीको मोर्चाबन्दी भएको छ । विप्लपको नेकपा, मोहन बैद्यको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेलको नेकपा र आहुतीको बैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टीको कार्यगत एकता भएको छ । उनीहरुले शासन व्यवस्थामाथि प्रश्न गरेका छन् । ओलीलाई तानाशाही शैलीको भन्दै विरोध गरेका छन् ।

तर आन्दोलन किन एकताबद्ध छैन ?

सबै दल ओलीको विरुद्धमा छन् । विरोधका एजेण्डा पनि एउटै छन् । तर उनीहरु मिलेर संगठित आन्दोलन गर्न चाहेका छैनन् । किनभने सबैको आ–आफ्ना एजेण्डा छन् । त्यसैले आ–आफ्नो छुट्टै अस्तित्व देखाउनका लागि उनीहरुले एजेण्डा मिलेर पनि एकल आन्दोलन गरिरहेका छन् । नेकपा (दाहाल–नेपाल) समूहले संगठित आन्दोलन गर्न प्रस्ताव गरेको थियो । तर कांग्रेसले आफ्नो छुट्टै पहिचान भएको भन्दै मोर्चा कसेर आन्दोलन गर्न चाहेन । त्यसपछि सबै एकै ठाउँमा मिल्न नसकेका हुन् ।

Skip This
Skip This
Logo