काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले अल्पमतमा परेको जानकारी पाएलगत्तै राजीनामा दिनुपर्ने बताएका छन् । राष्ट्रिय सभामा बोल्दै उनले अविश्वास प्रस्ताव दर्ता गर्ने थाहा पाएलगत्तै ओलीले राजीनामा दिनुपर्ने बताएका हुन्। ओलीसँग पार्टी जोगाउने अवसरसमेत रहेको उल्लेख गर्दै गौतमले प्रधानमन्त्रीको स्थानमा आफू भएको भए राजीनामा दिने बताएका हुन् । त्यसो हुँदा पार्टी फुटबाट जागिने गौतमको तर्क छ ।
प्रधानमन्त्री ओलीले पार्टी र सरकारको सम्बन्ध मिलाउन र आगामी दिनमा अघि बढ्नका लागि शिक्षा हुने गौतमको बुझाइ छ । अर्कातर्फ प्रचण्ड–नेपाल समूहले पनि आफ्नै नेताविरुद्ध अविश्वास प्रस्ताव लैजान नहुने उपाध्यक्ष गौतमको भनाई छ । यस्तै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाँदा प्रचण्ड–माधव नेपाल पक्षले आफूलाई नसोधेको वामदेवको भनाई छ ।
यसअघि पटक पटक आफूले अविश्वासको प्रस्ताव ल्याउन खोज्दा असफल बनाएको गौतमले खुलासा समेत गरेका छन् । आफूले पटक पटक बैठकमा नेताहरुको कार्यशैली सुधारको कुरा उठाए पनि सुधार नभएको र त्यही कारणले आफू धेरैपटक नेताको विरोधी जस्तो भएको वामदेवको गुनासो छ । उनले प्रधानमन्त्रीको कटु आलोचक भएको उल्लेख गर्दै प्रधानमन्त्रीकै कारण पार्टी आजको अवस्थामा आएको आरोप पनि लगाएका छन् ।
गौतमले पार्टी विभाजनको औचित्य नरहेको भन्दै आफू अहिले कुनै समूहमा नरहेको स्पष्ट पनि पारे । गौतमले ऋषि कट्टेलको नेकपाको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै अदालतबाट कट्टेलको पक्षमा निर्णय भएमा नेकपाको एउटा पक्ष एमाले र अर्को पक्ष माओवादी केन्द्र बन्न सक्ने बताए । आफू फेरि पनि एकता कायम गर्न लागिरहेको र त्यसका लागि संगठनको संरचना बनाएरै जाने गौतमको भनाई छ ।





























प्रतिक्रिया