‘प्रधानमन्त्री ओली इमान्दार तानाशाह हुन्’ : डा. बाबुराम भट्टराई (भिडियाेसहित)

‘प्रधानमन्त्री ओली इमान्दार तानाशाह हुन्’ : डा. बाबुराम भट्टराई (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान भन्दा माथिबाट समग्र व्यवस्थालाई नै ‘कू’ गरेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले काठमाडौंमा आयोजना गरेको अन्तरपार्टी अन्तर्क्रिया कार्यक्रममा बोल्दै भट्टराईले प्रधानमन्त्री ओलीले संवैधानिक ‘कू’ नभई संविधान र व्यवस्थामाथिको ‘कू’ गरेको बताएका हुन् । प्रधानमन्त्री ओलीले गरेको ‘कू’ २०१७ सालमा राजा महेन्द्र र २०६०/६१ मा राजा ज्ञानेन्द्रले गरेको कू जस्तै भएको बताए।

उनले भने, ‘केपी ओलीको नेतृत्वमा नेपालमा जुन प्रतिगमनकारी घटना घट्यो पुस ५ गते यो सामान्य होइन । मेरो विचारमा १७ सालमा राजा महेन्द्रले जुन ‘कू’ गरे र ०६०/६१ सालमा राजा ज्ञानेन्द्रले जुन ‘कू’ गरे त्यसैको हाराहारिको यो ‘कू’ हो । संवैधानिक ‘कू’ होइन । त्यो त संविधान अन्तर्गत हुन्छ । संविधानमाथिको ‘कू’ हो । व्यवस्था माथिको ‘कू’ हो । त्यसो हुनाले यसलाई सामान्य अर्थमा लिने गल्ती कसैले पनि नगरौं ।’

प्रधानमन्त्रीले संसद विघटन गर्ने कदम संवैधानिक हो वा होइन भन्ने विषयमा बहस गर्न र भ्रममा पर्न नहुने पनि भट्टराईले बताए । उनले भने, ‘नियोजित ढंगले संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रहार गरेर यसलाई उल्ट्याएर फेरि विभिन्न शक्तिहरु भित्रि र बाहिरी शक्तिहरु छन् जसले नेपालको परिवर्तन रुचाएका छैनन् , जसले यहाँको अस्थिरतामा खेल्न चाहिरहेका छन् त्यसको मतियार बनेर केपी शर्मा ओलीले यो कदम चाल्नु भएको हो ।’

कुनैपनि व्यक्तिले लहडमा प्रतिनिधिसभा विघटन गर्नै नसक्ने समेत बताए । अन्तर्राष्ट्रिय परम्परामा संसद विघटन गर्ने अभ्यास छ भन्दै नेपालको संसद विघटन गर्न नपाइने समेत बताए । प्रधानमन्त्रीले कुनैपनि बेला संसद विघटन गर्न सक्ने कुरालाई विचार गरेर संविधानमा नै प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने व्यवस्थालाई हटाइएको बताए । अहिलेको अवस्थामा कुनैपनि तरिकाबाट संसद विघटन हुनै नसक्ने उनले बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले दुई तिहाई बहुमतको सरकार चलाउन नसक्ने मान्छेले चुनाव गराउँछ भन्ने भ्रममा नपर्न पनि आग्रह गरे । अहिलेको अस्थिरतालाई कायम राख्दै निर्वाचन पनि नहुने, संविधान पनि भंग हुने भयो भने देशमा राष्ट्रिय स्वाधिनतामाथि खतरा आउन सक्ने बताए । प्रतिनिधिसभा पुनर्स्थापना हुने विषयमा अदालतको आशा गर्नुपर्ने तर भर पर्न नहुने पनि भट्टराईले बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री ओली इमान्दार तानाशाह भएको टिप्पणी समेत गरेका छन् । उनले ओलीले झापा आन्दोलनमा राम्रो काम गरेपनि पछि जेलबाट निस्किएर आएपछि अग्रगमनको विरोधी बनेर आएको बताए । आफ्नो प्रवृति नलुकाइकन व्यवस्थामाथि आक्रमण गरिरहेकाले प्रधानमन्त्री ओली इमान्दार तानाशाह भएको आरोप समेत भट्टराईले लगाए । नेकपाका नेताहरुले अहिलेसम्म ओलीलाई कसरी बोकेर ल्याउनु भयो आफूलाई अचम्म लागेको पनि बताए।

चुनावमा जाँदा लाभ हुन्छ भनेर कांग्रेस र जसपाले मुख मिठ्याएर बस्न नहुने पनि पूर्वप्रधानमन्त्री भट्टराईले बताए । पार्टीहरु बीचको संयुक्त आन्दोलन नहुँदासम्म अहिलेको कदमलाई सच्याउन नसकिने पनि बताए। तर संयुक्त आन्दोलनका लागि ओलीबाट छुट्टिएर आएका नेकपाका नेताहरुमाथि आशंका भएकाले संयुक्त आन्दोलन हुन नसकेको पनि बताए । कुनैपनि बेला नेकपाका नेताहरु फेरि ओलीसँग मिल्न सक्ने सम्भावना भएकाले संयुक्त आन्दोलनमा जान समस्या रहेको बताए ।

Logo