त्रिदेशीय साझेदारीको खाँचो : अध्यक्ष दाहाल

त्रिदेशीय साझेदारीको खाँचो : अध्यक्ष दाहाल

केन्द्रबिन्दु
0
Shares

नुवाकोट ।
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकासका लागि नेपाल, चीन र भारतबीचको त्रिदेशीय साझेदारी रणनीतिमा जानुपर्ने बताएका छन् ।

सोमबार नुवाकोटको विदुर नपा–७ तुप्चेमा आयोजित पोष्टबहादुर बोगटीको सालिक अनावरण तथा चण्डेश्वरी माविको ६१ औँ अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले उक्त भनाइ राखेका हुन् । “रेलमार्ग, हवाइमार्ग वा सडक मार्ग जे बनाए पनि नेपालको आर्थिक ‘कनेक्टिभिटी’का लागि त्रिदेशीय साझेदारीको खाँचो छ”, अध्यक्ष दाहालले भने, “केरुङ नाका यता रहेकाले त्रिदेशीय कनेक्टभिटीबाट नुवाकोटले बढी लाभ लिन सक्छ ।”

उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा लुम्बिनी–ल्हासा रेलमार्गको कुरा चीनका तत्कालीन राष्ट्रपति हु जिन्ताओसँग कुरा राखेको बताउँदै भने, “अहिले रेलमार्गको कुरा धेरै अघि बढिसकेको छ । रेलसँगै केरुङ–ठोरी राजमार्गका विषयमा कुरा अघि बढिरहेको छ ।”

अध्यक्ष दाहालले नुवाकोटमा विकास पूर्वाधारको काम धेरै अघि बढिरहेको र आगामी दिनमा त्यसले अझै गति लिने विश्वास व्यक्त गरे । चण्डेश्वर माविको परिसरमा विद्यालयले निर्माण गरेको आफ्ना सहकर्मी नेता पोष्टबहादुर बोगटीको सालिक अनावरणमा निकै भावुक देखिएका अध्यक्ष दाहालले बोगटीको अभाव पार्टीलाई खड्किरहेको र त्यो भन्दा बढी आफूलाई अभाव खड्किएको बताए ।

“पार्टीको उच्च नैतिकवान् नेताको परिचय बनाएका थिए बोगटीले । उनको अभाव पार्टीमा खड्किरहेको छ । पार्टीलाई भन्दा बढी मलाई अभाव खड्किएको छ । उनको अभावमा आफूले चाहेजस्तो कतिपय काम गर्न नसकेको प्रचण्डको भनाई थियो ।
अध्यक्ष दाहालले वि.सं २०३६ बाट बोगटीले आफूलाई निरन्तर साथ दिएको बताए । “मेरो एकातिर डाक्टर र अर्कोतिर वैद्य त हुनुहुन्थ्यो । तर जस्तोसुकै कुरा भए पनि बोगटीले दुवैको दाँतबाट पसिना निकाल्नेगरी कुरा राख्नुहुन्थ्यो । जस्तोसुकै कुरा भए पनि बोगटीले पार लगाउनुहुन्थ्यो ।”

कार्यक्रममा ऊर्जा तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजनापिच्छे प्रसारण लाइन निर्माण गर्दा देशका धेरै स्थानमा तार माकुराको जालो जस्तो भएकाले अबदेखि एउटा क्षेत्रमा उत्पादित बिजुलीलाई एउटै प्रसारण लाइनबाट लैजाने रणनीति अवलम्बन गरिरहेको बताए । उनले चालू आर्थिक वर्षमा एक हजार मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोडिने, पाँच वर्षमा पाँच हजार र १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन हुने बताए । मन्त्री पुनले चण्डेश्वरी माविलाई नेपाल विद्युत् प्राधिकरणको नाममा रहेको १२५ रोपनी जग्गा हस्तान्तरण गर्न प्रक्रिया शुरु भएको र त्यसलाई पूरा गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा सांसदद्वय नारायणप्रसाद खतिवडा र बहादुरसिंह लामा, नेकपा जिल्ला अध्यक्ष तथा प्रदेशसभा सदस्य हीरानाथ खतिवडा लगायतले मन्तव्य राखेका थिए । विसं २०१० मा तुप्चेमा जन्मिएका बोगटीको २०७१ मा निधन भएको थियो । रासस

Logo