हाम्रो आन्दोलन अख्तियारकै सहयोगका लागि हो- प्रकाशचन्द्र परियार

हाम्रो आन्दोलन अख्तियारकै सहयोगका लागि हो- प्रकाशचन्द्र परियार

केन्द्रबिन्दु
0
Shares

गत बुधबार अख्तियारले ललिता निवास जग्गा प्रकरणका दोषी ठहर गर्दै १७५ जनालाई मुद्दा लगाउने निर्णय गरेपछि यसको पक्ष र विपक्षमा विभिन्न मत अभिमतहरू आइरहेका छन् । साझा पार्टीले पनि शुक्रबार दोषी कोही पनि छोड्नु हुँदैन भन्दै अख्तियारको गेटमा विरोध गरेको थियो । प्रहरीले सो पार्टीका दर्जनभन्दा बढी नेता कार्यकर्तालाई पक्राउ गर्यो । यसै क्रममा हामीले साझा पार्टीका केन्द्रीय सदस्य एवं सामाजिक न्याय विभाग प्रमुख प्रकाशचन्द्र परियारसँग कुराकानी गरेका छौं । प्रस्तुत छ केन्द्रबिन्दुका उप–सम्पादक विवश कुलुङले गरेका कुराकानी ।

अख्तियारले बालुवाटार जग्गा प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेपछि तपाईंहरू एक्कासी जाग्नु भयो नि !

हामी एक्कासी जागेका होइनौं । हामीले यस अघि पनि खुट्टा नकमाउ अख्तियार, ठुला माछा कहिले समात्छौ भन्दै पटक पटक खवरदारी आन्दोलन चलाएकै हो । अहिले पनि हाम्रो अख्तियारविरुद्ध आन्दोलन होइन । अख्तियारलाई सहयोग गर्न गरिएको आन्दोलन हो । अख्तियारको जुन कदम छ, राम्रो कदम हो । तर एउटै प्रकरणमा सत्ता पक्षका नेताहरूलाई जोगाउने ‘लाल कदम’ गलत हो सबै भ्रष्टाचारीहरूलाई मुद्दा लगाइयोस भनेका हौ अर्थात अख्तियारलाई सरकारको कठपुतली नबनाइयोस भनेका हौं ।

तपाईंको पार्टी र कांग्रेसको आन्दोलनमा के फरक छ ?

आकाश र पातालको फरक छ, कांग्रेसले गरेको आन्दोलन भ्रष्टाचारीको मुद्दा लागेका विजय गच्छादारलाई जोगाऔ भन्ने हो भने हाम्रो आन्दोलन चाहिं भ्रष्टाचारीहरू विजय गच्छादार हुन् कि विष्णु पौडेल हुन् । जो जो भ्रष्टाचारमा मुछिएका छन्, सबैलाई सत्ताको रङ्ग नलगाई कानून बमोजिम कारबाही हुनुपर्छ भन्ने स्पष्ट माग हो । सवै भ्रष्टाचारीलाई जेलमा कोचौं भन्ने हो ।

यो आन्दोलनको लक्ष्य, उद्देश्य पनि छ ? आन्दोलन कहिलेसम्म गर्ने हो ?

साझा पार्टी भ्रष्टाचार विरोधी पार्टी हो । अख्तियारले ठुलो माछा समातोस् भनेर हामीले निरन्तर आन्दोलन गर्‍यौं। अख्तियारका सबै कार्यालयहरूमा ज्ञापन–पत्र पनि बुझायौं । हामीलाई अख्तियारप्रति विश्वास छ । तर अख्तियारमा दिप बस्न्यात, राजनारायण पाठक र लोकमानसिंह कार्की जस्ता आयुक्तहरू दलीय हिसावबाट अकुत सम्पति संकलन गर्ने सर्त सहित, सत्ताको छाँयामा वसेर विरोधी तह लगाउने नियतले ल्याइयो यसको साख जोगाउनै गार्हो भयो, दलीय र सत्ताको छाँयामा गिजोलिएको यसको गरिमा खस्कियो ।अख्तियारको गरिमालाई र साखलाई अझ उजिल्याउनु छ ।

तथापी देश भ्रष्टाचारले थिलथिलो भएको अवस्थामा थोरै प्रयास गरेर कानूनको जगमा अभ्यास गरेको हुँदा तपाईंले राम्रो प्रयास गर्नुभयो भनेर अख्तियारको आयुक्तलाई वधाई दिन गुलावको फूल लिएर जाँदा हामीले फूल दिन समेत पाएनौं । हामीले खुला ठाउँमा गएर प्रदर्शन गर्दा पनि हामीलाई पक्राउ गरियो । हाम्रो आन्दोलन जारी छ । यसको स्वरुप, शैलीवारे पार्टीमा छलफल चलिरहेको छ।

तपाईं २४ माघमा पक्राउ पनि पर्नुभयो, किन हो ?

हो त भ्रष्टाचारको विरोध गर्दा, हामी पक्राउ पर्यौ त्यो पनि गैरनिषेधित क्षेत्रमा । हामीलाई शान्तिपूर्ण प्रदर्शन गर्दा पनि नियन्त्रणमा लिइयो ।
आफ्ना माग राख्न पाउने, प्रदर्शन गर्न पाउने, अभिव्यक्ति स्वतन्त्रता संविधानले सुनिश्चित गरेको छ तर हिजो संबैधानिक हकको समेत उपयोग गर्न पाएनौं ।

साझा पार्टी समग्रमा कसरी अघि बढिरहेको छ ?

हाम्रो पार्टीले वैकल्पिक शक्तिको नेतृत्व गरिरहेको छ । सु–संस्कृत राजनीति र समतामूलक संमृद्धि हाम्रो लक्ष्य हो । अहिलेको राजनीतिले इमान, जमान, क्षमता, सुझवुझ र आत्मसम्मान भएका मानिसहरूलाई ब्लक गरेको छ । अहिलेको राजनीति भनेको विचौलियाहरू, काला व्यापारी र दलालहरूको राजनीतिको हातमा पुगिसकेको छ । त्यस्ता कुराजनीतिको विकल्पमा हामीले पद्धति भएको, विधि र प्रकृया केन्द्रित नेतामुखी होइन नीतिमुखी राजनीतिक अभ्यास गरिरहेका छौ । पारदर्शिता र विधिको शासनलाई केन्द्रमा राखेर निष्ठा र क्षमताको राजनीति अगाडि बढाइरहेकाछौं । त्यही अनुसार हामीले काम गरिरहेका, सचेतना अभियान जारी राखेका छौं । खास गरेर हामी संगठन बिस्तारकै क्रममा छौं । नीति र सिद्धान्तलाई अझ परिमार्जित गरेर अघि बढिरहेका छौं । सुसंस्कृत राजनीतिलाई जनतामाझ पस्किरहेका छौ‌ं । राजनीतिमा आशा जगाउदै युवा पुस्ता, इमानदार, केही गरौ भन्ने सोच भएका र क्षमतावानहरूलाई पार्टीमा रेड कार्पेट स्वागत गर्दै समतामूलक संवृद्धि अभियानमा होमिएका छौं ।

Logo