नेकपा बैठक : प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल

नेकपा बैठक : प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा बिहीबार (आज) देखि समूहगत छलफल हुनेछ । राष्ट्रियसभागृहमा शुरु भएको बैठकमा बिहीबारदेखि वर्णानुक्रम अनुसार १५ समूह विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल गर्ने तयारी भएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

महासचिव विष्णुप्रसाद पौडेलले समूहगत छलफलका लागि १५ समूहमा केन्द्रीय सदस्यलाई विभाजन गरेका थिए । वर्णानुक्रम अनुसार ४४१ केन्द्रीय सदस्यलाई विभिन्न १५ समूहमा विभाजन गरिएको हो । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी २०७७ चैत मसान्तसम्म पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव पेश गर्नुभयो । त्यसैगरी बैठकमा महासचिव पौडेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बुधबार सातै प्रदेशका अध्यक्षले आ–आफ्नो प्रदेश कमिटीको साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यसूची भए पनि समय अभावका कारण पेश हुन सकेन ।

उक्त १५ समूहमा सचिवालय सदस्य रहने छैनन् । समूह नेताले समूहका तर्फबाट २० मिनेटमा लिखित प्रतिवेदन प्रस्तुत गर्ने कार्यविधिसमेत बनाइएको छ । अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन र महासचिवको साङ्गठनिक प्रतिवेदनमाथि बिहीबारदेखि नै समूहगत छलफल हुनेछ । छलफलपछि शुक्रबार र शनिबार समूहका नेताले आ–आफ्नो समूहको तर्फबाट लिखित प्रतिवेदन प्रस्तुत गर्ने कार्यविधि रहेको छ ।

यसैगरी बैठकमा केन्द्रीय निकायका अध्यक्षलाई समेत बोल्ने दिइने भएको छ । निकायका अध्यक्षलाई १० मिनेट समय छुट्याइएको छ । कार्यविधिअनुसार आइतबार समूहगत छलफलमा उठेका विषयमा निष्कर्ष प्रस्तुत गर्ने र दस्तावेज पारित गर्ने कार्यतालिका रहेको छ ।

बैठकमा सचिवालय र स्थायी कमिटी बैठकले गरेका निर्णयउपर छलफल गर्ने र अनुमोदन गर्ने कार्यतालिका रहेको छ । बैठकमा श्रव्य र दृश्य सङ्कलन गरिने छ । बैठक बुधबारबाट माघ १९ गतेसम्म प्रत्येक दिन बिहान ११ देखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । पार्टी एकतापछि पहिलोपटक कार्यसूचीसहित दोस्रो बैठकमा केन्द्रीय कमिटीका ४४१ सदस्यको सहभागिता रहनेछ । नेकपा प्रचार विभागमा उपप्रमुख थापाका अनुसार बैठक बिहिबार पुनः ११ बजे पुनः बस्ने छ ।
रासस

Logo