‘आफैंले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री घाँडो भए’ : माधवकुमार नेपाल

‘आफैंले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री घाँडो भए’ : माधवकुमार नेपाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफैंले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री घाँडो भएको बताएका छन् ।

जनता समाजवादी पार्टी नेपालले मंगलबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री ओलीले संसदमा विपक्षी पार्टीका नेताहरुलाई गरेका शब्दबाँड सुनेर आफूलाई पोल्ने गरेको समेत बताए । यस्तै प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दा देश भित्र र बाहिर कस्तो प्रभाव पार्छ भन्ने विचार नगरी बोल्ने प्रवृतिले आफूहरुलाई शिर निहुर्याएर बस्नु पर्ने अवस्थामा पुर्याएको समेत बताए ।

उनले भने ‘संसदमा उहाँले विपक्षी पार्टीहरुसँग, विपक्षी नेताहरुसँग गरिएका शब्दबाँडहरु सुन्नुहोस् । त्यो ओहोदामा पुगेको र देशको अभिभावक भएको प्रधानमन्त्रीको मुखबाट देश भित्र र बाहिर के प्रभाव पर्छ भन्ने कुरा विचार नगरिकन बोल्ने कुराले हामीलाई पोल्थ्यो । हामी टाउको उठाएर तालि बजाउने होइन शिर निहुर्याएर झोक्रिने अवस्था पैदा हुने गर्दथ्यो । किनभन्दा के गर्ने हामीले नै बोकेर ल्याएको नेता, मैले नै प्रस्तावित गरेको दलको नेता, मैले नै प्रस्तावित गरेको प्रधानमन्त्री अव घाँडो हुन पुग्नु भयो ।’

प्रधानमन्त्री ओलीले जनताका समस्यालाई बेवास्ता गरी देशमा भ्रष्ट्राचार मौलाउने काममा भूमिका खेलेर लोकतन्त्रको मूल्य मान्यतालाई कुल्चेर चल्ने कुरामा पार्टी भित्रबाट विरोध भएको बताए। जनताको हितमा काम नगर्ने तर भ्रष्ट्राचारलाई मौलाउने भूमिका खेल्ने प्रवृतिलाई सुधार्न पार्टीमा कुरा उठाएको पनि नेपालले बताए।

कार्यक्रममा अध्यक्ष नेपालले पार्टी भित्रको विवादलाई लिएर असंवैधानिक कदम चालेर प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको हत्या गर्न खोजेको आरोप समेत लगाए । प्रजातान्त्रिक प्रवृति नभएको मान्छे भएकाले प्रधानमन्त्री ओलीले आफ्ना विरोधीहरुलाई एकएक गरेर सिध्याउन चाहेको समेत बताए ।

अध्यक्ष नेपालले सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीले चालेको गलत कदममा नेपालको संविधानको मूल भावना र मर्मलाई ठिक व्याख्या गरेर गलत गर्नेहरुलाई सही बाटो देखाउने कुरामा भूमिका खेल्ने विश्वास समेत व्यक्त गरे।

Skip This
Skip This
Logo