‘प्रतिनिधिसभा सूचारु हुनेमा म ढुक्क छु’ : नारायणकाजी श्रेष्ठ

‘प्रतिनिधिसभा सूचारु हुनेमा म ढुक्क छु’ : नारायणकाजी श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान अनुसार प्रतिनिधिसभा सूचारु हुनेमा ढुक्क रहेको बताएका छन् ।

मंगलबार बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले संविधान अनुसार प्रतिनिधि सभा सूचारु हुनेमा आफुहरु ढुक्क रहेको बताएका हुन् । संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको विशेषाधिकार हुँदा प्रधानमन्त्रीले आफ्नो स्वार्थमा संसद विघटन गर्दा राजनीतिक अस्थिरता हुने भएकाले नयाँ संविधान निर्माण गर्दा प्रधानमन्त्रीको संसद विघटनको विशेषाधिकारलाई हटाउन राष्ट्रिय राजनीतिक सहमति बनाइएको र संविधानमा उक्त कुरा नलेखिएको प्रवक्ता श्रेष्ठको भनाई छ । सरकार बनाउन नसक्ने अवस्थामा संसद आफैँ विघटन हुने तर बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको कुनै अधिकार नभएको उनले बताए । संविधानको धारा ७६ को कुनै पनि उपधारामा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालत तथा निर्वाचन आयोगमा समेत सेटिङ मिलाएर प्रतिनिधिसभा विघटन गरेको भन्ने आम रुपमा आशंका उब्जिएको भन्दै प्रवक्ता श्रेष्ठले प्रचार गरिएकै भरमा न्यायालय र संवैधानिक आयोगले प्रभावित भएर निर्णय नगर्ने विश्वास समेत व्यक्त गर्नुभयो । त्यसरी गरिने प्रचार संवैधानिक आयोगमाथि गरेको अपमान तथा अवमूल्यन भएको उनको भनाई छ । सरकारले दबाब र प्रभावमा पारी आफू अनुकुल निर्णय गर्न बाध्य पारे निष्पक्ष निर्णय गर्न जनताले वातावरण बनाईदिने उनले बताए । आफूहरुको आन्दोलन संवैधानिक अंगप्रति नभई असंवैधानिक कदम चाल्ने सरकारविरुद्ध केन्द्रीत रहेको पनि प्रवक्ता श्रेष्ठले स्पष्ट पारे ।

पार्टीको आधिकारिकता र चुनाव चिन्ह सूर्य आफूहरुसँग रहनेमा कुनै दुविधा नरहेको प्रवक्ता श्रेष्ठले बताए। उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल लगायतका राजनीतिक दलसँग संयुक्त संघर्ष गर्ने पहल जारी राखेको जानकारी दिए। प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम पूर्णरुपमा पररास्त नगरुञ्जेल सङ्घर्ष जारी राख्ने पनि बताए।

Logo