अग्निप्रसाद सापकोटाको शिक्षकदेखि सभामुखसम्मको यात्रा (भिडियोसहित)

अग्निप्रसाद सापकोटाको शिक्षकदेखि सभामुखसम्मको यात्रा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभाको सभामुखका लागि प्रस्तावित अग्निप्रसाद सापकोटा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य हुन् । प्रतिनिधि सभामा नेकपाको बहुमत रहेकाले सापकोटा सभामुखमा निर्वाचित हुने निश्चित छ ।

२०७४ साल मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सापकोटाले ४१  वर्षअघि राजनीतिक यात्रा शुरु गरेका थिए । धेरैले ‘अग्नि सर’का रुपमा चिन्ने र जान्ने गरेका सापकोटा नेकपाभित्र सादगी र इमान्दार नेताका रुपमा परिचित छन् । लामो समय शिक्षक र प्रधानाध्यापकका रुपमा सेवा गरेका कारण पनि उनलाई जिल्लाबासीहरुले ‘अग्नि सर’ को नाम दिएका हुन् ।

वि.सं २०१४ फागुन २४ गते सिन्धुपाल्चोक, कुभिण्डेमा जन्मिएका सापकोटाले त्रिभुवन विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन गरेका छन् । २०३५ सालमा नेकपा (चौथो महाधिवेशन) भन्ने पार्टीमा संलग्न हुँदै राजनीतिमा लागेका सापकोटा २०६४ चैतमा भएको पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।

वि.सं २०६८ सालमा उनले सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारी पनि सम्हाले । २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा पनि उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाटै संविधानसभामा निर्वाचित भए । तत्कालिन नेकपा (माओवादी) ले अपत्यारिलो हार ब्यवहोरेको दोस्रो संविधानसभा निर्वाचनमा वाग्मती अञ्चलबाट उनीमात्र निर्वाचित भएका थिए । सापकोटाले २०७३ मा नेपाल सरकारको वन तथा भू–संरक्षण मन्त्रीको समेत जिम्मेवारी सम्हाले । उनी २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित भए ।

२०३५ सालदेखि राजनीतिमा लागेपनि सापकोटाको सक्रियता २०४८ सालदेखि बढेको हो । वि.सं. २०५१ मा तत्कालीन नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य हुँदै २०५१ असोजमा नेकपा (माओवादी)का केन्द्रीय सदस्य भएका उनी २०५२ साल माघ महिनादेखि भूमिगत भए । सापकोटालाई तत्कालीन नेकपा (मोआवादी) ले सरकारसँग वार्ता गर्न २०५८ सालमा गठीत वार्ता टोलीको सदस्य बनायो । उनी तत्कालीन एकीकृत नेकपा (माओवादी) को हेटौँडा महाधिवेशनबाट पोलिटब्युरो सदस्य समेत बने । उनले २०६९ साउनदेखि एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ताको भूमिका निर्वाह गरे । पार्टी राजनीतिमा उनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का निकट मानिन्छ ।

द्वन्द्वकालिन मुद्दाका कारण सापकोटा बेला बेला विवादमा तानिने गरेका छन् । सापकोटाविरुद्धको द्वन्द्वकालिन मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधिन छ । यसअघि २०६८ साल बैसाखमा तत्कालिन प्रधानमन्त्री झलनाथ खनालले सापकोटालाई सुचना तथा संचार मन्त्रीमा नियुक्त गर्ने बेला पनि उनको नियुक्ति रोक्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो । रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले त्यसबेला मन्त्रीमा नियुक्ति नरोक्न आदेश दियो ।

प्रस्तुत छ, उनको बारेमा तयार पारिएको यो भिडियो सामाग्री 

Logo