काठमाडौं ।
आगामी ०७७ चैत मसान्तभित्र एकता महाधिवेशन गर्ने प्रस्ताव पार्टीमा गरेको सत्तारुढ दल नेकपाले संगठित सदस्यता नवीकरण र अभिलेखीकरणका लागि तीनमहिने कार्यविधि तय गरेको छ।
केन्द्रीय संगठन विभागले बनाएको कार्यविधिलाई सचिवालयले अनुमोदन गरेर कार्यान्वयन गर्न पठाएको नेकपाले जनाएको छ। दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालको हस्ताक्षरपछि पार्टीले ‘विशेष परिपत्र ७’ मार्फत् कार्यविधि पार्टी पंक्तिमा पठाएको छ। केन्द्रीय कार्यालयसँग संगठित सदस्यको आधिकारिक अभिलेख छैन । साबिक एमाले र माओवादी केन्द्रको एकतायता नेकपाले संगठित सदस्यता नवीकरण गर्न सकेको छैन।
अब उसले तत्कालीन एमाले र माओवादीमध्ये साबिक कुन पार्टीको संगठित सदस्य रहेको पहिचानसमेत खुल्ने अभिलेख राख्ने भएको छ। एकताको अघिल्लो दिन (०७५ जेठ २ गते) सम्मको साबिक दुवै पार्टीका सदस्यलाई सदस्यता नवीकरण गर्न उसले तीन महिना समय तोकेको छ। अभिलेख सम्बन्धित भूगोलका प्रदेश र विशेष प्रदेश कमिटीले जिल्ला, गाउँ, नगर कमिटीलाई माघ मसान्तसम्म उपलब्ध गराउनुपर्ने परिपत्रमा उल्लेख छ। ओली–दाहालले गरेको सर्कुलरमा भनिएको छ, ‘०७५ जेठ २ सम्म कायम पार्टी सदस्यलाई संगठित सदस्य मानी ०७६ चैत मसान्तभित्र संगठित सदस्यता नवीकरण गरिसक्नु पर्नेछ।’
अन्नपूर्णबाट





























प्रतिक्रिया