‘आन्तरिक किचलोले संसदमा पनि कमजोर भइयो’- रामहरि खतिवडा (पूर्वसांसद, नेपाली काँग्रेस)

‘आन्तरिक किचलोले संसदमा पनि कमजोर भइयो’- रामहरि खतिवडा (पूर्वसांसद, नेपाली काँग्रेस)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली काँग्रेसभित्र यतिबेला आन्तरिक किचलो उत्कर्षमा पुगेको छ । पार्टीको १४ औं महाधिवेशनको मिति, विभागको संख्या तथा सदस्यता वितरणसम्बन्धी विधानका व्यवस्था निलम्बन गर्ने लगायत केन्द्रीय समितिले पुस ११ गते गरेको निर्णयको पक्ष र विपक्षमा नेता तथा कार्यकर्ताहरु ध्रुवीकृत भएका छन् । असन्तुष्ट पक्षले निर्णय सच्याउन दवाब दिने उद्देश्यले जिल्ला सभापतिहरूको छुट्टै भेला समेत आयोजना गर्यो । पार्टी भित्र बढेको किचलोले कार्यकर्ताहरुमा निराशा पैदा भएको छ । कतै पार्टी फुट्ने त होइन भन्ने त्रास पनि कायम रहेकै बेला हामीले कांग्रेसका युवा नेता रामहरि खतिवडासँग कुरा गरेका छौं । प्रस्तुत छ केन्द्रबिन्दुका लागि वरिष्ठ उपसम्पादक ज्ञानमणि नेपाल कालोटोपीले खतिवडासँग गरेको कुराकानीको सम्पादित अंश

प्रश्न १
कांग्रेस केन्द्रीय समितिले पुस ११ गते गरेको निर्णयबारे तपाईंको धारणा के छ ?

यो ठूलो कुरा होइन । आखिर महाधिवेशन गर्नु त छँदै छ । केही चित्त नबुझेका कुरा होलान् त्यसलाई सच्याउन पनि सकिन्छ । अहिलेसम्म एकल निर्णयचाहिँ भएको थिएन । नेतृत्वले सबैको सल्लाह र सहमतिमा काम गर्नु पर्ने हो । ढिलै भए पनि यसको प्रयास सभापतिले गरिसक्नुभएको छ । निराश नहुन म सबैलाई अनुरोध गर्छु । विवाद हुन्छ, समाधान पनि हुन्छ । फुट्ने कल्पना गर्दै नगरौं । पार्टी फुट्दैन, ठूलो पार्टीमा हल्ला हुन्छ, खल्ला हुन्छ यो सामान्य हो । विवादभन्दा पनि अब हामी समाधानमा जानु पर्छ ।

प्रश्न २
काँग्रेसभित्रको आन्तरिक विवाद कहिले अन्त्य हुन्छ ?

यो आम शुभचिन्तकले सोधेको प्रश्न हो । यहाँ बुझ्नु पर्ने कुरा के छ भने काँग्रेस कमजोर हुनु भनेको शेरबहादुर पनि कमजोर हुनु हो, रामचन्द्र वा कृष्ण सिटौला पनि कमजोर हुनु हो । समग्र कार्यकर्ता पनि कमजोर हुनु हो । यस्तो विवादले फाइदा कसैलाई पनि छैन । अहिले एउटा नेताले अर्कोलाई आरोप लगाउने होइन, कम्युनिष्टले देश खाइसकेको अवस्थामा हामी फुटेर होइन जुटेर अघि बढ्नु पर्छ । देशमा भ्रष्टाचार मौलाइरहेको छ । राष्ट्रको सम्पत्ति दोहन भएको छ । यस्तो बेलामा प्रतिपक्षी काँग्रेसले जनतालाई उत्साहित बनाउनु पर्नेमा निरुत्साहित बनाउनु हुँदैन । यसरी प्रजातन्त्रवादी राजनितीक दलले आफैं कमजोर बन्ने काम गर्नु हुँदैन । अब नेतृत्वले यो विषयमा सोच्नु पर्छ । केहि समयमै यो समस्या आफैं समाधान हुन्छ भन्नेमा म ढुक्क छु ।

प्रश्न ३
पार्टीमा भएका विवाद मिलाउन तपाईंहरू जस्ता युवा नेताहरुको भूमिका के रहन्छ त ?

यो एकदमै महत्वपूर्ण प्रश्न हो । यसरी पार्टी असक्षम बन्दै गयो भने त्यसले सबै असक्षम भएको सन्देश दिन्छ । हामीले पनि अब नेतृत्वलाई दबाब दिने बेला आएको छ । सबै जिल्लाका पार्टी सभापतिहरु, केन्द्रीय सदस्यहरु लगायत सबै बसेर चित्त नबुझेका कुराहरू मिलाउनुस् भनेर हामीले पटक पटक भनिरहेका छौं । खासमा हुनु पर्ने कुरा पनि यही हो । पार्टी भन्दा ठूला नेता होइनन् । यसरी सबैले आआफ्नै अडान मात्र राखेर हुँदैन । हामीले भनेका छौं, पार्टी नेता अनुसार चल्ने होइन, जनताको चाहना अनुसार चल्नुपर्छ । अहिलेको विवाद संवादको कमीले भएको हो । केही समयमै यो समाधान हुन्छ भन्ने मलाई लागेको छ ।

प्रश्न ४
यो गुट र त्यो गुटले थला परेको पार्टीलाई अब गुटरहित काँग्रेस बनाउन सकिंदैन ?

हामीलाई यतिबेला एकढिक्का भएको काँग्रेस चाहिएको छ । जो नेता जहाँ छन् सबै काँग्रेसकै कारण भएका हुन् । देउवा पनि काँग्रेस नभएका भए यहाँ पुग्दैनथे । पौडेलको हैसियत पनि यहाँसम्म पुग्ने थिएन । काँग्रेसकै कारण यहाँ पुग्ने अनि काँग्रेसलाई नै कमजोर बनाउने काम कसैले पनि गर्छ भने त्यो काँग्रेस नै होइन । यसरी गुट उपगुटले हुँदैन । संसदमा पनि हाम्रो उपस्थिति कमजोर भएको छ । यस्तो अवस्थामा कसरी पार्टीलाई बलियो बनाउने भन्नेमै हामी लाग्नु पर्छ । एक अर्काविरुद्ध पाखुरा सुर्केर पार्टी बलियो हुँदैन । म काँग्रेस हुँ भनेर अघि बढ्नु अहिलेको आवश्यकता हो ।

प्रश्न ५
पार्टीलाई युवा नेताहरूले चलाउनु पर्ने आवश्यकता भएको हो कि जस्तो लाग्दैन तपाईंलाई ?

संसारमा हेर्ने हो भने ३४ वर्षमा पनि प्रधानमन्त्री भएका उदाहरणहरु आइसकेका छन् । तर यहाँ के बुझ्नु पर्छ भने शक्ति सम्पन्न देशहरूमा ६० वर्ष कटेका व्यक्ति नै देशको कार्यकारी प्रमुख भएका छन् । युवा भन्नेबित्तिकै सबै जोश र जाँगर आउँछ भन्ने होइन । दुईचार जना युवाले मात्र चलाउन सकिने पनि होइन, सबै मिलेर जाने हो भने युवा नै चाहिन्छ भन्ने केही छैन । तर युवाहरूले हामी सक्छौं भन्ने स्पिडमा काम गर्ने हो भने अब अग्रज पुस्ताले सल्लाहकारको भूमिका निभाउँदै युवालाई नेतृत्व दिनु पर्ने अवस्था पनि आउन सक्छ । काँग्रेसकै कुरा गर्ने हो भने अनुभव भएका व्यक्ति नै चाहिन्छ नेतृत्व गर्न, बाहिर गफ गरेजस्तो देश चलाउन र पार्टी चलाउन सकिंदैन ।

Skip This
Skip This
Logo