प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज जिल्ला सभापतिहरुसँग झण्डै ३ घण्टा छलफल गरेका छन् ।
असन्तुष्ट पक्षले परामर्षका लागि भन्दै काठमाडौं बोलाएका जिल्ला सभापतीहरुलाई पार्टी सभापति देउवाले आज विहान बुढानिलकण्ठस्थित आफ्नै निवासमा छलफलका लागि बोलाएका थिए । देउवाले पार्टी एकजुट बनाएर लैजाने कुरामा आफू पनि चिन्तित रहेको जिल्ला सभापतिहरुलाई बताएको छलफलमा सहभागि खोटाङ्गका जिल्ला सभापती नरेश कुमार श्रेष्ठले जानकारी दिए । आजको छलफलमा संस्थापनईतरका शिर्ष नेताहरु भने सहभागि भएनन् । त्यसबारे आफूहरुलाई नबोलाएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष निकट एक केन्द्रीय सदस्यले बताए ।
कांग्रेसभित्रको आन्तरिक कलह उत्कर्षमा पुगेपछि संस्थापनइतर समूहले पार्टी कार्यालय सानेपा आयोजना गरेको जिल्ला सभापतीहरुको परामर्ष बैठक ३ दिनसम्म चलेको थियो । उक्त बैठकमा जिल्ला सभापतीहरुले केन्द्रीय समितिले पुस ११ गते गरेका विधान विपरितका निर्णयहरु सच्याउन र पार्टीलाई एकजुट बनाएर अघि बढाउने वातावरण बनाउन नेतृत्वलाइ दवाव दिएका थिए । ४७ जिल्लाका सभापतिहरु सहभागि भएको परामर्श बैठक हिजो सकिएको थियो ।
असन्तुष्ट पक्षसँग भएको परामर्श बैठक लगत्तै सभापति देउवाले जिल्ला सभापतिहरुलाई आफ्नो निवासमा बोलाएका हुन् । त्यसअघि जिल्ला सभापतिहरुको भेला रोक्न प्रयास गर्दै देउवा पक्षले आफू निकट सभापतिहरुलाई काठमाडौं नआउन निर्देशन दिएका थिए ।
विहिबार विहान ११ बजेदेखि २ बजेसम्म भएको जिल्ला सभापतिहरुसँगको छलफलमा पार्टी सभापति देउवाले आवश्यकता अनुसार निर्णय सच्याएर अघि बढ्न आफू लचिलो भएको बताए । देउवाले अब तुरुन्त असन्तुष्ट पक्षसँग बसेर सहमती कायम गर्ने प्रतिबद्धता जनाएको खोटाङ्गका सभापती श्रेष्ठले बताए ।
जिल्ला सभापतिहरुले पार्टीभित्र बढेको आन्तरिक कलहले आफूहरुलाई चिन्तित बनाएको भन्दै पार्टीलाई एकजुट बनाएर लैजान पार्टी सभापतीलाई आग्रह गरेका थिए । पार्टी सभापतिसँगको छलफलपछि आफूहरु आशाबादी रहेको जिल्ला सभापतिहरुले बताएका छन् । उनीहरुले बिहिबार नै पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी आफ्ना धारणा पनि सार्वजनिक गर्दैछन् ।































प्रतिक्रिया