काँग्रेस जिल्ला सभापतिद्वारा नेतृत्वलाई सहमति गर्न सुझाव

काँग्रेस जिल्ला सभापतिद्वारा नेतृत्वलाई सहमति गर्न सुझाव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टीको केन्द्रीय कार्यसमिति बैठकबाट बहुमतका आधारमा गरिएको निर्णय सच्याइ सबै नेताहरुलाई सहमतिका साथ अघि बढ्न सुझाव दिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बोलाएको ‘जिल्ला सभापति परामर्श बैठक’मा उनीहरुले केन्द्रीय नेतृत्वलाई सहमतिका साथ एक ठाउँमा बसेर चौधौँ महाधिवेशनको तयारीमा जुट्न सुझाव दिएका हुन् । साथै जिल्ला सभापतिहरुले लोकतन्त्रमाथि खतरा उत्पन्न भएको अवस्थामा समग्र पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्ने र पार्टीका नेतामा वैमनस्य नहुनुपर्नेमा जोड दिएका दैलेखका सभापति कृष्णकुमार बिसीले जानकारी दिए ।

संस्थापन पक्षले केन्द्रीय समिति बैठकबाट बहुमतका आधारमा निर्णय गरेको भन्दै असन्तुष्ट बनेको नेता पौडेल समूहले सुझाव लिन जिल्ला सभापतिको भेला बोलाएको हो । बैठकमा मंगलबार केन्द्रीय नेताहरु कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा रामशरण महत र डा शेखर कोइरालाले पार्टीको वर्तमान परिस्थितिका बारेमा आफ्ना धारणा राखेका थिए ।

केन्द्रीयसमिति बैठकबाट महासमिति भेलाले गरेको निर्णय लत्याउने काम भएको, निलम्बन गरिएका विधानका दफा फुकुवा गर्नुपर्ने र बहुमतका आधारमा गरिएका निर्णय सच्याउनुपर्ने बारेमा चारै नेताले जोड दिएको नुवाकोटका सभापति जगदीशनरसिंह केसीले बताए ।

केन्द्रीय समिति बैठकले पुस ११ गते पार्टीको चौधौँ महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म गर्ने र केन्द्रीय समितिको समयावधि एकवर्ष थप गर्ने लगायत महत्वपूर्ण निर्णय बहुमतका आधारमा गरेको थियो । सो बैठकले महाधिवेशनको प्रयोजनार्थ विधानका केही दफा निलम्बन गर्ने, विधानमा उल्लेख २८ केन्द्रीय विभागको सङ्ख्या ४७ पु¥याउने, तरुण दलको म्याद ६ महिना थप गर्ने लगायतका निर्णय पनि गरेको थियो ।

‘जिल्ला सभापति परामर्श बैठक’मा सोमबार वरिष्ठ नेता पौडेल र महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको पछिल्लो अवस्था र केन्द्रीय नेतृत्वसँग भएका छलफलका बारेमा जानकारी गराएका थिए भने पूर्वमहामन्त्री प्रकाशमान सिंहले सहमतिका लागि गरिएका प्रयास बारेमा जानकारी गराएका थिए । बैठकमा नेता पौडेल समूहका ४१ जिल्ला सभापति र दुई जिल्ला सभापतिका प्रतिनिधि सहभागी छन् । आजसम्म चल्ने बैठकमा सोमबार र मङ्गलबार गरी २८ जिल्ला सभापतिले आफ्ना धारणा राखेका रोल्पाका सभापति अमर पुनले जानकारी दिए । भेलामा नेता पौडेल समूहका केन्द्रीय सदस्य र पदाधिकारी पनि उपस्थित छन् ।

बैठकमा सबै नेतालाई एक थलोमा राखेर महाधिवेशनको कार्यतालिका निर्माण गर्दै अघि बढोस् भन्ने सुझाव आएको र त्यही सुझाव पार्टी सभापतिसहित सबै नेतालाई बैठक समापनपछि दिने जिल्ला सभापतिहरुले बताएका छन् ।
रासस

Skip This
Skip This
Logo