काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला काठमाडौंमा शुरु भएको छ । संस्थापन पक्षले बहुमतका आडमा एकलौटी ढंगले विधानका ब्यवस्था निलम्बन गरेको भन्दै त्यसलाई सच्याउनका लागि पार्टी नेतृत्वलाई दवाब दिन जिल्ला सभापतिहरुको भेला बोलाईएको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । जिल्ला सभापतिहरुको भेला अपरान्ह १ बजे पार्टी कार्यालय सानेपामा शुरु भएको हो । पौडेल निकट केन्द्रीय सदस्य हृदयराम थानीले सबै जिल्लाका सभापतिहरुलाई परामर्शका लागि बोलाइएपनि संस्थापन पक्षले आफू निकटका सभापतिहरुलाई भेलामा नआउन भनेका कारण सबै जिल्लाका सभापतिहरुको उपस्थिती हुन नसकेको बताए ।
सभापतिहरुको भेला अघि कांग्रेस कार्यकर्ताहरुले विधान विपरितका निर्णयहरु सच्याउन माग गर्दै कार्यालय परिसरमा नारावाजी गरेका थिए । संस्थापनपक्षईतरका जिल्ला सभापतिहरुले वृहत् लोकतान्त्रिक एकता निर्माण गरेर जानुपर्ने ऐतिहासिक दायित्व बोकेको आफ्नै पार्टीभित्र अनुदारता र असहिष्णुता देखिनु दुखद रहेको बताएका छन् । उनीहरुले गुटगत स्वार्थभन्दा माथि उठेर जिम्मेवार र क्रियाशिल पार्टी बनाउन नेतृत्वलाई अनुरोध गरेका छन् । केन्द्रीय समितिले बहुमतका आधारमा लिएका केहि निर्णयहरुले पार्टी जीवनभित्र संशय, अन्यौलता र राजनीतिक जटिलता पैदा गरेको भन्दै उनीहरुले त्यसप्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । सभापतिहरुको भेलामा ध्यानाकर्षणपत्र पेश गर्दै उनीहरुले गतबर्षको महासमिति बैठकले सर्वसम्मत पास गरेका प्रस्तावलाई केन्द्रीय समितिले बहुमतको गणितबाट उल्टाएर संवैधानिक सर्वोच्चता विरुद्धको आन्तरिक यात्रा शुरु गरेको टिप्पणी गरेका छन् । ध्यानाकर्षणपत्रमा केन्द्रीय समितिको पुस ११ गतेको निर्णयले पार्टीलाई परम्परा, संस्कार, लोकतान्त्रिक मूल्य र आफैंद्वारा पारित विधानको परिधि भन्दा बाहिर धकेलेको महशुस भएको उल्लेख छ ।
सभापतिहरुले विधान सम्मत निर्णय गर्न, महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण निर्णय सहमतीको आधारमा लिन, पार्टीको साधारण सदस्यता र क्रियाशील सदस्यताको वितरण नवगठित संरचनाहरुमार्फत तत्काल शुरु गर्न माग गरेका छन् ।































प्रतिक्रिया