काठमाडौं ।
प्रधानमन्त्रीको दाबी– वीरगन्ज, विराटनगर, भैरहवा र नेपालगन्जमा एकीकृत जाँच चौकी (आइसिपी) चलाएका छौं । चाँदनी दोधारामा पनि चलाउँदै छौँ ।
वास्तविकता : भारतको लगानीमा १० वर्षअघि तत्कालीन प्रधानमन्त्री माधव नेपालका पालामा सुरु भएको हो यो आयोजना, तर चाँदनी दोधारामा आइसिपी निर्माणको योजनासमेत छैन ।
प्रधानमन्त्रीको दाबी– बुटवल–नारायणगढ खण्ड ६ लेनको बन्दै छ ।
वास्तविकता : अहिले दुई लेनको सडक चार लेनमा विस्तार गर्ने योजना, दुई वर्षमा दुई प्रतिशत मात्रै प्रगति ।
प्रधानमन्त्रीको दाबी– भुइँचालोले भत्काएका सात लाख घर बनाएर जनतालाई हस्तान्तरण गरिएको छ ।
वास्तविकता : हालसम्म ५ लाख ५९ हजार घर निर्माण, सरकारले दिएको जम्मा तीन लाखले घरका जग मात्रै बन्छन् । पूर्ण घर सरकारले बनाइदिएको होइन, त्यसैले घर हस्तान्तरण सम्बन्धी कुनै कार्यक्रम भएनन् । यो आयोजना पनि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा सुरु भएको हो ।
प्रधानमन्त्रीको दाबी– हाइवेबाट तराईका जिल्ला सदरमुकाम जाने २०–२५ किलोमिटर बाटो कस्तो थियो ? हामीले ६ लेनको बनायौँ ।
वास्तविकता : तराईका जिल्ला सदरमुकाम होइन, भारतीय नाका जोड्न आठ वर्षअघि यो आयोजना सुरु भएको हो । अहिलेसम्म जम्मा दुई सडक मात्र निर्माण सम्पन्न भएका छन्, तीन सडक अझै निर्माणाधीन ।
प्रधानमन्त्रीको दाबी– रक्सौल र केरुङका रेल आउँदै छन् ।
वास्तविकता : केरुङतर्फको रेलको प्रारम्भिक सम्भाव्यता अध्ययनसमेत भएको छैन । अध्ययन गर्न आउने भनिएको चिनियाँ टोली नै आएको छैन । यता मात्र होइन, उता केरुङसम्मै रेल आउनेसमेत अहिलेसम्म निश्चित छैन । रक्सौलको रेलबारे डिपिआर अध्ययन अझै सुरु भएको छैन ।
प्रधानमन्त्रीको दाबी– हुलाकी राजमार्गको चर्चा धेरैले गरे, हामीले राजमार्ग बनायौँ।
वास्तविकता : प्रधानमन्त्रीले भनेजस्तै यो राजमार्ग बनेको छैन, खासमा आधा काम पनि भएको छैन । निर्माण सुरुवात पनि अहिले होइन, १२ वर्ष अघि भएको हो, काम अहिले पनि सुस्त छ । कतिपय ठाउँका कच्ची बाटोमा धुलो उडाउँदै बस गुड्छन् । प्रधानमन्त्रीकै गृहजिल्ला झापामा पनि हुलाकी राजमार्गका एक दर्जन पुल अलपत्र छन् ।
……
प्रधानमन्त्री केपी ओलीले नेपालमा दुनियाँ आश्चर्यमा पर्ने गरी विकासका काम भएको बताएका छन् । शनिबार नेकपा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै ओलीले ‘दुनियाँ आश्चर्यमा पर्ने’ कामको फेहरिस्त बताए पनि अधिकांश गलत तथ्यांक प्रस्तुत गरेका छन् । तर, उनको भाषणलाई भने तथ्यले सहयोग गरेका छैनन् ।
नेपाल र भारतबीचका प्रमुख व्यापारिक नाकाहरूमा भारतले आफ्नै खर्चमा एकीकृत जाँच चौकी (आइसिपी) निर्माण गर्न १० वर्षअघि नै परियोजना सुरु गरेको हो । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पाला २०१० मा निर्माण सुरु भएका वीरगन्ज र विराटनगरका आइसिपी सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् । वीरगन्जको आइसिपी ०७५ देखि सञ्चालनमा छ भने विराटनगरको आइसिपी गत साल प्रधानमन्त्री ओलीको भारत भ्रमणका वेला दुई मुलुकका प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् । निर्माण भने पहिले नै सम्पन्न भइसकेको थियो ।
नेपालगन्जमा निर्माण हुने तेस्रो आइसिपीको शिलान्यास गत १२ नोभेम्बरमा भारतका वाणिज्यमन्त्री पियुष गोयल र तत्कालीन सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले गरेका थिए । यसबाहेक भैरहवा, काँकडभिट्टा, महेन्द्रनगर, भिट्टामोडमा समेत आइसिपी निर्माणको योजना छ । तर, चाँदनी–दोधारामा एकीकृत जाँच चौकी (आइसिपी) बनाउने योजना नै छैन । नेपाल इन्टरमोडल विकास समितिका अनुसार चाँदनी–दोधारामा सुक्खा बन्दरगाह (आइसिडी) निर्माणको अध्ययन भइरहेको छ, आइसिपी बनाउने त कुनै योजना नै छैन ।नयाँ पत्रिकाबाट





























प्रतिक्रिया