सरकारलाई असफल बनाउन देश विदेशबाट संगठित प्रयास भइरहेको छ : प्रधानमन्त्री

सरकारलाई असफल बनाउन देश विदेशबाट संगठित प्रयास भइरहेको छ : प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल बनाउन देश विदेशबाट संगठित प्रयास भइराहेकोे बताएका छन् ।

शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध प्रेस संगठनले गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बलियो बहुमतलाई पराजित बनाउन देश विदेशका शक्तिहरु लागेको बताउँदै सरकार स्थायित्वका लागि लागेको स्पस्ट पारे । उनले साधन स्रोत सम्पन्नहरुले सञ्चार क्षेत्रमा लगानी गरी सरकारलाई हमला गर्न सक्रिय रहेको समेत बताए । ‘‘साधन स्रोत सम्पन्नहरुले साधन र स्रोतको प्रयोग गरेर र खासगरी विभिन्न सञ्चार माध्यमहरु, सामाजिक सञ्जाल प्रयोग गर्दै त्यसमा लगानी गरी हमला गर्न खोज्छन् र साना उपलब्धीहरुलाई ओझेल पार्ने र नभएका कुराहरुलाई उचाल्ने, सबै जनाले अन्तर वस्तु बुझ्न पाएको हुँदैन, त्यसकारण भ्रम फिजाएपछि त्यो भ्रमको असर परिराखेको हुन्छ ।’’ उनले भने ।

ओलीले पछिल्लो घटनाक्रमहरुलाई उल्लेख गर्दै गोकर्ण रिसोर्ट यति समूहलाई लिजमा दिने निर्णयको बचाउ समेत गरे । उनले पार्टीभित्रै सरकारलाई बदनाम गराउन प्रयास भइराखेको समेत बताए । उनले सरकारले गरेका कामहरुमा भ्रम सिर्जना गर्ने र विकास निर्माणका कुनै काम गर्न नदिने प्रवृति बढेको बताए । ओलीले पार्टी भित्रैपनि कविता बाचन गरी विरोध मात्र गर्ने तर सरकारले गरेका राम्रा कामहरुमा केही बोल्न नसक्नेहरु सक्रिय रहेको बताए ।

सरकारले असाधारण हिसाबले नयाँ नयाँ योजनाहरु ल्याएकोले विरोधीहरु सक्रिय रहेको बताए । उनले भने – ‘‘मैले खोलाको बाटोबाट पनि हामी आवागमन गर्न सक्छौं भने उडाए, हामी समुद्रमा जहाज चलाउन सक्छौं भने उडाए, कति दयनिय अवस्था छ विरोधिहरुको, पानीमा पानीजहाज चल्छ भन्ने कुरा पनि थाहा पाएका छैनन, नदिमा स्टिमर चल्छ, जहाज चल्छ भन्ने त थाहा पाउनु पर्छ नि ।’’

उनले राजनीतिकरुपमा थुप्रै उपलब्धीहरु प्राप्त गरेको अवस्थामा अझैपनि सफलतालाई पराजित बनाउन खतरनाक प्रयासहरु भइराखेको बताए । यस्ता खतरनाक प्रयासहरुलाई पराजित गरी राष्ट्रिय एकता सामाजिक सदभावमा आधारित राष्ट्रिय एकताको भावले जित्नुपर्ने उनको भनाई थियो ।

Logo